‘भक्तपुरको कला–संस्कृतिआदिको जानकारीका लागि स्थानीय पाठ्यक्रम’

प्रदेश मुख्य समाचार शिक्षा

भक्तपुर, ४ वैशाख, २०७६ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति, भूगोल, इतिहास, सम्पदा, खेलकुद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाएको बताएका छन् । नगरपालिकाको आयोजनामा मंगलबार शिक्षा ऐन २०७४ बमोजिम नगर क्षेत्रभित्रका सामुदायिक एवम् संस्थागत विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध जानकारी नयाँं पुस्ताले पाउने विश्वास व्यक्त गरे ।

एक्काइसौँ शताब्दीको लागि योग्य र प्रतिस्पर्धी विद्यार्थी तयार गर्न विद्यालय र सञ्चालक समितिबीचको समन्वय राम्रो हुनुपर्ने विचार उनले व्यक्त गरे । युवा पुस्तामा व्यवहारिक ज्ञानको कमी रहेको औंल्याउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षाको लागि बढी लगानी गरिरहेको चर्चा गरे । भक्तपुर नगरभित्रका सामुदायिक र निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूको लागि मन्टेश्वरी तालिम, विषयगत तालिमहरूको सञ्चालन गरी शिक्षाको स्तर उकास्न र शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले प्रयास गरिरहेको उनले बताए ।

भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाले भक्तपुरलाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरे । उनले विज्ञान र प्रविधिसँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताए । भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शिक्षा क्षेत्रमा नगरपालिकाले गरिरहेको कामबारे चर्चा गरेका थिए ।

Loading...