बदलिँदो अस्वस्थकर जीवनशैली नै हृदयघातको मुख्य कारण — डा. रेग्मी

अन्तर्वार्ता मुख्य समाचार विषेश समाचार

अस्वस्थकर जीवनशैली र सूर्तीजन्य पदार्थको प्रयोगले अचानक मुटु बन्द हुने अर्थात् कार्डियाक अरेस्टको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप, मधुमेहजस्ता विभिन्न कारणले कार्डियाक अरेस्ट हुने समस्या देखिए पनि ह्दयघातलाई चिकित्सकले यसकाे प्रमुख कारण मानेकाे छ । नेपालको कुल जनसंख्याको करीब २० प्रतिशतलाई मुटु सम्बन्धी कुनै न कुनै समस्या रहेको नेपाल ह्दय रोग निवारण प्रतिष्ठानको तथ्याङ्क छ । यसै सन्दर्भमा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग आजको खबरले कुराकानी गरेका छ । प्रस्तुत छ त्यसको अंश:

यो कार्डियाक अरेस्ट कस्तो स्वास्थ्य समस्या हो ?

यो कार्डियाक अरेस्ट भनेको मुटु रोकिने हो । मुटुको विभिन्न खतरनाक अवस्थाहरुमध्ये यो एउटा हो । खतरनाक अवस्था – मुटु एक्कासी रोकिने जसलाई कार्डियाक अरेस्ट भनिन्छ अर्को भनेको हृदयघात (हार्ट अट्याक) र मुटु फेल हुने । कार्डियाक अरेस्ट विभिन्न कारण हुन सक्छ ।

यहाँका अनुसार मुटुको विभिन्न खतरनाक अवस्थामध्ये कार्डियाक अरेस्ट एक हो, यो समस्या के कारणले निम्तन्छ ?

अहिले मुटुको विभिन्न समस्याहरु देखिएको छ । जुन हार्ट अट्याक अर्थात् ह्दयघात प्रमुख समस्या हो । कार्डियाक अरेस्ट भएर मृत्यु हुने विभिन्न कारणमध्ये हृदयघात एक प्रमुख कारण हो । चुरोट र सूर्तिको सेवन, बदलिँदो अस्वस्थकर जीवनशैली हृदयघात हुनुको मुख्य कारण हो ।

यो समस्या विशेषगरी कसलाई हुन्छ ? कुन वर्ग वा भनौ उमेर समूह यसको बढी जोखिममा हुन्छन् ?

पछिल्लो अध्ययन अुनसार यो कुनै वर्ग वा समूह भनेर हृदयघातले भन्दैन । यो सबैलाई नै हुन सक्छ । तर विशेषगरी अलि पाको उमेर ४० वर्ष उमेर कटिसकेका र अस्वस्थकर जीवनशैली जसले धुम्रपान बढी गर्छ, जसलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ, त्यस्ता व्यक्तिहरुलाई हृदयघातको समस्या बढी हुन्छ । युवाहरु विशेषगरी ४० वर्षभन्दा कम उमेर समूहमा पनि यो समस्या छ । यदी यो समस्या उनीहरुलाई भयो भने वृद्धाहरुलाई भन्दा कडा खालको देखिएको हामीले पाएका छौ ।

त्यसो भए, पछिल्लो समय मानिसमा बढ्दो अस्वस्थकर जीवनशैली पनि यसको एक प्रमुख कारण मध्ये एक हो भन्न मिल्छ ?

एकदमै मिल्छ । अहिलेको मुटुरोगको प्रमुख कारण म त भन्छु की ८० प्रतिशत कारण नै यो जीवनशैलीसँग सम्बन्धित छ । बद्लिदो अस्वस्थकर जीवनशैलीले गर्दा अहिले हृदयघातको समस्या बढी रहेको छ, त्यसैले कार्डियाक अरेस्ट भएर मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

यो कार्डियाक अरेस्टबाट कसरी बच्न सकिन्छ ? यहाँको सुझाव के रहन्छ ?

सबैभन्दा पहिले यो चुरोट र सूर्तिको सेवन बन्द नै गर्नुपर्छ । हृदयघातको प्रमुख कारण भनेको सूर्तीजन्य पदार्थ हो । जीवनशैलीलाई स्वस्थ बनाउन स्वस्थ आहार खानु पर्छ । खानामा हरियो सागसब्जीको मात्रा बढाउने, धेरै चिल्लो, गुलियो कम खाने गर्नुपर्छ । दैनिक ३० देखि ६० मिनेटसम्म शारीरिक व्यायाम गर्नुपर्छ । शरीरको तौललाई सन्तुलन राख्नुपर्छ । मानसिक तनाव लिनु भएन । स्वस्थकर जीवनशैली हामीले अवलम्बन गर्न सक्यौ भने सम्भावित हृदयघात, आकस्मिक मृत्यु र कार्डियाक अरेस्टबाट बच्न सक्छौं।