पाहुना गएका जागेश्वर सडकमा मृत फेला परे

मुख्य समाचार समाज

इटहरी, २ वैशाख, २०७६ । आफन्तकोमा पाहुना गएका सुनसरी भोक्राहा–नरसिंहका एक जना जेष्ठ नागरिक आइतबार राती सडकमा मृत अवस्थामा भेटिएका छन् । भोक्राहा–नरसिंह वडा नं. ७ का ७४ वर्षीय जागेश्वर मण्डल वडा नं. ३ मा पाहुना गएको बेला सडकमै मृत भेटिएका हुन् ।

जागेश्वर वडा नं. ३ मा सम्धीको घरमा पाहुना गएका थिए । उनी दुई दिनअघि गएका थिए । ‘राति कुटपिट गरेर मारेको भनी सूचना आएपछि प्रहरी टोली पुग्दा सडकमा जागेश्वर मृत अवस्थामा भेटिए,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फूयाँलले भने । उनका अनुसार आफन्तले हत्या गरेको दाबी गरेपछि दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वडा नं. ३ का ३५ वर्षीय शंकर मण्डल र २९ वर्षीय बुधु मण्डल छन् ।

घटना भएको स्थान नजिकै नयाँ वर्षको अवसरमा मेला लाग्ने गर्छ । मेला लाग्ने हुँदा शंकरसहितको समूह त्यही बाटो भएर हिडेको स्थानीयले दाबी गरेपछि खोजी गरेर पक्राउ गरिएको हो ।

Loading...