देशमै रोजगारी सिर्जना गर्न आवश्यक : उपराष्ट्रपति पुन

मुख्य समाचार रोजगार

रसुवा, २ वैशाख, २०७६ । उपराष्ट्रपति नन्द बहादुर पुनले देशमा रहेका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्ने योजनामा सरकार रहेको बताएका छन् । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतमा सोमबार सम्पन्न खुला जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमको समापनमा बोल्दै उनले जलविद्युत् आयोजना उत्पादन सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

उपराष्ट्रपति पुनले जलविद्युत् उत्पादन, कृषि उत्पादनमा वृद्धि, व्यवसायीकरण तथा आधुनिकीकरण गर्ने, जडिबुटी प्रशोधन, उद्योग कलकारखाना निर्माण, भौतिक पूर्वाधारको विकास र प्रविधिहरूको विकास गरी विकास र समृद्धिको वर्षको रूपमा मनाइने बताए ।

रसुवा जिल्ला जलविद्युत् हवको रूपमा विकास भइरहेको छ । जिल्लामा अहिले १३ वटा आयोजना निर्माण भइरहेका छन् । ८ वटा आयोजनाको सर्वे हुँदैछ । दुईवटा आयोजनाले उत्पादन गरिसकेका छन् ।

रसुवाको समृद्धि र विकासको ढोकाहरू प्रसस्त खुलेको बताउँदै उपराष्ट्रपति पुनले रसुवागढी नाका जोड्ने सडकको पूर्वाधारको विकास र सुख्खा बन्दरगाह समयमै निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । गल्छी मैलुङ रसुवागढी सडक निर्माण समयमै सम्पन्न गर्नका लागि उनले आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले सोमबार गोसाईकुण्डको दर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय नाका रसुवागढी र रसुवागढी जलविद्युत् आयोजनाको अवलोकन गरेका थिए । नाकाको अवलोकन गर्दै उनले नाकामा छिट्टै रेल कुद्ने बताए ।

Loading...