चट्याङले विद्युत अवरुद्ध हुँदा अध्याँरोमा बस्न बाध्य

मुख्य समाचार समाज

खोटाङ, २ वैशाख, चट्याङले लघु जलविद्युत योजनामा क्षति पुग्दा खोटाङको खिदिमामा विद्युत अवरुद्ध भएको छ । शनिबार दिउँसो पानीसँगै परेको चट्याङले साकेला गाउँपालिका–३ खिदिमास्थित बोपुङमा सञ्चालित तावाखोला तेश्रो लघु जलविद्युतको पावर हाउसमा क्षति पुग्दा विद्युत अवरुद्ध भएको हो ।

लघु जलविद्युत योजनाको उपकरण बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र छितापोखरी बास्थलाका २५२ घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । चट्याङका कारण लघु जलविद्युत योजनाको करिब १ लाख ५० हजार बराबरको उपकरणमा क्षति पुगेको छ । चट्याङले लघु जलविद्युतको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएकोे तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोकप्रसाद राईले जानकारी दिए ।

पावर हाउसमा पुगेको क्षतिको विवरणसहित वडा कार्यालय र गाउँपालिकामा निवेदन दिने तयारी गरिएको स्थानीयले बताएका छन् । बत्ती नहुँदा विशेषगरी वृद्धवृद्धा, विद्यार्थी मारमा परेका छन् । विद्युत नभएका कारण घरायसी काममा समेत समस्या भइरहेको स्थानीयले बताएका छन् ।