[कविता] ढाक्रेका कुरा — धनप्रसाद सुवेदी ‘श्रमिक’

मुख्य समाचार साहित्य

राखी ढाकरमाथि सामल पिठो बोकेर भारी सधैँ
खेपी शीत र ताप कष्ट पसिना काढेर हिँड्छौँ सधैँ
मान्छे हौँ तर छैन भिन्न पशुमा मानौँ गधा जन्म झैँ
पुस्तौँ जीवन सिद्धियो अब नि खै लाग्दैन क्यै हुन्छ झैँ ।

‘तिम्रो दर्द हटाउँछौँ र सुखको खोलो बगाम्छौँ’ भनी
ती आश्वासन भाषणै कति भए सुन्यौँ र झुक्यौँ पनि
नेता नीति अनेक फेरबदली गर्यौं परीक्षा सब
बाँकी छैन अरे कसैसँग कतै आशा भरोशा अब ।

तारे होटलमा हुने जति सबै गोष्ठीहरू छन् जति
दाताबाट लिने भए जति सबै पैसाहरू छन् जति
हाम्रै नाम लिएर हुन्छन भनी सुन्दा खुसी जाग्दछ
हामी हुन्छ मरौँ तिमी अमर हौँ भन्नै मनै लाग्दछ ।

हाम्रो तस्बिरको लिलाम अति नै व्यापार धेरै छ रे
तिम्रा वैभवका मुहान जति छन् हाम्रो अभावै अरे
यो सुन्दा सुख लाग्छ एक छ यही सन्तोष मान्ने कुरा
हामी बोक्न सकौँ छ भार जति हो चढ्नू तिमी टाकुरा ।

हाम्रो जीवनका कथा र कविता लेख्छन् अरे लेखक
हाम्रो जीवनका व्यथा विवशता बुझ्छन् अरे भावक
भो भो व्यर्थ नलेख्नु लेखकहरू के अर्थ लौ लेख्नु को ?
भो भो व्यर्थ नबुझ्नु भावकहरू के अर्थ भो बुझ्नु को ?

के यस्तै नि सधैँ हुनेछ जहिले त्यो रात मात्रै किन ?
फेरिन्छन् सब वस्तु यै नियम हो हाम्रो छ उस्तै किन ?
ढाक्रेले जब सोच्न थाल्छ यसरी यस्तो भयो हो किन ?
तिम्रो स्वर्ग कता रहन्छ कसरी सोच्दै गरे तत्जन ।

Loading...