प्रहरीलाई नै घुस खुवाउन खोज्ने पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

काठमाडौं, २ वैशाख, प्रहरीलाई नै घुस खुवाउन खोज्ने बस चालकसमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चमतीस्थित बा ५ ख ४८४२ नम्बरको बसमा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका’२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु फेला पारी बरामद गर्दा उनीहरुले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।