सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ४२ जना घाइते

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सर्लाही, १ वैशाख, २०७६ । जिल्लाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । बिहान सवा ५ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ गम्भीरसहित ३२ जना घाइते भएका छन् ।

काठमाण्डौंबाट पूर्वतर्फ जाँदै गरेको बा. ३ ख. १३१८ नम्बरको बस पल्टिएको हो । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर घर फर्कदै गरेको बस पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका एवम् घाइते सबै सुनसरी र मोरङ्ग जिल्लाका रहेका छन् ।

दुर्घटनामा मोरङ्ग जिल्ला दुबही नगरपालिका–८ निवासी २३ वर्षीय अनिल उराउ एवम् गुरही गंगा गाउँपालिका–६ निवासी २२ वर्षीय बब्ली उराउ र सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ निवासी ४० वर्षीय श्रीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि विराटनगर स्थित न्युरो हस्पिटल पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण न्यौपानेले जानकारी दिए । त्यस्तै सहचालक राजकुमार नेपालीलाई समेत उपचारका लागि काठमाडौं पठाइएको छ ।

यसैगरी दिउँसो साँढे १ बजे कविलासी नगरपालिका–१० सलेमपुरमा टाटा भिक्टा जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सदरमुकाम मलंगवाबाट फर्किदै गरेको बीआर ०१ पीडी ५९५१ नम्बरको भारतीय भिक्टा जीप पल्टिँदा त्यसमा सवार बागमती नगरपालिका–८ शंकरपुर निवासी ४६ वर्षीय चिरञ्जिवी पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते पोखरेललाई उपचारका लागि सदरमुकाम मलङ्गवातर्फ लाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले बताएको छ ।

यता लालबन्दी नगरपालिका–११, हीरापुरमा बिहान साँढे ११ बजे मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना. ३८ प ८२९५ नम्बरको २२० सिसी पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया मिना जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...