हावाहुरीले बारामा ३८ करोडको कृषि बालीमा क्षति

कृषि मुख्य समाचार

काठमाडौँ, १ वैशाख, २०७६ । चैत १७ गते आइतबार राती आएको हावाहुरीबाट बाराका विभिन्न आठ स्थानीय तहका १६ भन्दा बढि गाउँहरुका करोडौ रुपैया बराबरको खेती, अन्नपात र फलफूलका रुखहरुमा नोक्सान गरेको छ । हावाहुरीबाट कृषि क्षेत्रमा गरेको क्षतिको विवरण तयार गरेको कृषि ज्ञान केन्द्र बाराले हावाहुरीबाट गहुँ, मकै, मुसुरो, तरकारी र फलफूलका बोटहरु गरी ३८ करोड २४ लाखको क्षति भएको जनाएको हो ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले १ हजार ४ सय ५६ हेक्टरमा लगाएको गहुँ बालीमा छ करोड ५६ लाखको क्षति गरेको बताएका छन् । ५ सय ११ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीमा चार करोड ८८ लाख, १ सय ९१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीमा एक करोड ९१ लाख, ४ सय २२ हेक्टर क्षेत्रफलमा लगाइएको मसुरोमा एक करोड २४ लाख र २४१ हेक्टर क्षेत्रफलमा लगाइएको फलफूल (आँप) मा २३ करोड ६१ लाख गरी यी पाँच क्षेत्रमा हावाहुरीमा किसानहरुको बढी क्षति भएको प्रमुख यादवले बताए ।