क्यान्सर पीडित पाँच वर्षीय बालिकाको याचना

मुख्य समाचार समाज

काठमाडौं, १ वैशाख, २०७६ । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।

शुक्रबार एक पत्रकार सम्मेलन गर्दै बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भइसकेको र आफूहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

हाल कान्ति बाल अस्पतालमा अंकोलोजी विभागमा उपचार गराइरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराइन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनु पर्ने भएका कारण आफूहरु खर्च धान्न नसक्ने अवस्थामा आइपुगेको आफन्तले भनाई छ ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनकी आमाले दुःखेसो पोखिन् ।

अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाई छ । उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरिदिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर 9866401358/9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्ने पनि परिवारले जनाएको छ ।