सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा छ : मन्त्री अर्याल

मुख्य समाचार राजनीति

स्याङजा, १ वैशाख, २०७६, नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छिन्। यो कार्यमा योजनाबद्ध ढङ्गले लागेको भन्दै उनले सरकारका कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभूत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गरिन् । स्याङ्जाको वालिङ नगरपालिका-२ स्थित छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

यसैगरी काम गर्दा पारदर्शी किसिमले गर्नुपर्ने पनि मन्त्री अर्यालले बताइन् । उनले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्न समेत निर्देशन दिइन्। ‘सरकारले जुन ठाउँको लागि बजेट पठाएको छ स्थानीय तहले सोही ठाउँमा प्रयोग गर्नुस् । त्यस्तो नगरेर अन्यत्र प्रयोग गरेमा सरकारले हस्तक्षेप समेत गर्ने अवस्था आउन सक्छ । त्यसकारण तपाईंहरु सचेत रहनुहोस्’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने मन्त्री अर्यालले बताइन् । काम गरेर कोही सानो नहुने भन्दै उनले श्रमिकहरुलाई कामको उचित मूल्य दिनुपर्नेसमेत बताइन् । ‘गरिब हुनु मानिसको कमजोरी होइन। जन्मदै कोही धनी भएर आउदैन धनी हुने एउटै मात्र उपाय छ, त्यो परिश्रम हो । परिश्रम गर्न पछिपर्न हुदैन’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले घरबारबिहीन जनताका लागि सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको बताउँदै असुरक्षित घर, खरका छाना भएकाहरुलाई विस्थापित गरेर सुरक्षित बस्ती बनाउने अभियान अन्तर्गत जस्तापाताले घर छाउनको लागि प्रति घर ५० हजारका दरले रकम उपलब्ध गराउने पनि बताइन् ।

चापाकोट नगरपालिकामा विपन्नका लागि आएको जनता आवास अन्तर्गतको कार्यक्रममा सम्पन्नशालीले सुविधा लिएको र त्यो सरकारले फिर्ता गराएको स्मरण गराउँदै उनले अशक्तका नाममा आएको सेवा सुविधा अरुले प्रयोग गरे त्यस्तो कार्य सरकारलाई सह्य नहुने बताइन् ।

नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घाटन
यसैगरी मन्त्री अर्यालले भीरकोट नगरपालिका स्थित नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घाटन गदै सरकार कृषि सहकारीका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना गर्ने योजनामा रहेको बताइन् । सहकारीले अब रोजगारमुलक कामका साथै उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री अर्यालद्वारा झुल वितरण
यसैबीच मन्त्री अर्यालले वालिङ नगरपालिका-२ स्थित छप्राकमा रहेको दलित बस्तीमा झुल वितरण गरेकी छिन् । मन्त्री अर्यालले स्वास्थ्य मानिसले मात्रै राम्रोसँग काम गर्न सक्ने बताउँदै मच्छडको टोकाइबाट लाग्न सक्ने रोगबाट बच्नको लागि आफूले दलित बस्तीमा झुल वितरण गरेको बताइन् ।

खानेपानीको सहज व्यवस्था नभएसम्म सरसफाई कार्य पूर्ण नहुने भन्दै सरकारले सबै जनताको घरघरमा खानेपानीको सुविधा पुर्याउने मन्त्री अर्यालको भनाइ थियो ।

दलित बस्तीमा आएर झुल वितरण गर्नुका साथै आफूहरूका गुनासो मन्त्रीलाई नै सुनाउन पाएपछि खुसी लागेको जमानसिंह नेपालीले बताए । दुई सय पाँच घर रहेको दलित बस्ती छप्राकमा प्रत्येक घरको लागि एक एक वटा र ७० वर्ष भन्दा माथिका वृद्धाहरुलाई पनि मन्त्री अर्यालले झुल हस्तान्तरण गर्दै झुल लगाएर मात्र सुत्न आग्रह गरेकी थिइन् ।

Loading...