पाँचथरमा सरकारले दलित तथा माझीका घर बनाई दिने

प्रदेश मुख्य समाचार

फिदिम, ३० चैत, जिल्लामा निम्न आर्थिक अवस्थामा रहेका दलित तथा माझी समुदायका व्यक्तिहरुको घर सरकारले बनाइदिने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत यहाँका आठ स्थानीय तहका १ सय १५ परिवारलाई घर बनाई दिन लागिएको हो । जिल्लामा ३ करोड ८१ लाख खर्चिएर घर बनाइन लागेको हो ।

प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रम अन्तर्गत रहेर पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बाले जानकारी दिए ।

जनता आवास कार्यक्रम अन्तर्गत जिल्लाका प्रदेश सासदहरुसहितको समितिको शनिबार बसेको बैठकले पालिका स्तरीय संख्या छनौट गरेको छ । कुन वार्डमा कति घर बनाउने भन्ने कुरा बैठकले टुङ्ग्याएको हो ।

कार्यविधि अनुसार जिल्लामा यस्तो सहयोग पाउने दलित र माझी समुदायमात्र परेका छन् । प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत १ मा ५२ र २ मा ६३ वटा घर निर्माण हुने छन् । निर्वाचन क्षेत्र १ मा प्रदेशबाट २० र संघबाट २६ घर निर्माण हुने छन् । यस्तै, २ मा प्रदेशबाट २०, संघबाट २४ र बाँकी घर समपुरकबाट निर्माण गरिनेछ । फिदिम नगरपालिकामा २२, फालेलुङमा गापा १३, याङवरकमा ५, हिलिहाङमा ११ घर बन्ने छन् । यस्तै तुम्बेवामा ११, कुम्मायकमा १६, फाल्गुनन्दमा ११, मिक्लाजुङमा २० घर बन्ने छन् ।