जनप्रतिनिधि जिम्मेवार बने देश समृद्ध बन्छ : मन्त्री पोखरेल

प्रदेश मुख्य समाचार राजनीति

ओखलढुंगा, ३० चैत, उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिकालागि जनप्रतिनिधिहरु जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रथम ओखलढुंगा महोत्सवको शनिबार उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

आफ्नो प्रतिवद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै मन्त्री पोखरेलले तीन वटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताए । ‘विकास सम्भव छ, त्यसकालागि बजेट र योजना तर्जुमामा केन्द्र सरकारले कुनै कमी हुन दिँदैन’ मन्त्री पोखरेलले भने, ‘संविधान प्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि साथीहरु गोठालो बन्नुस् ।’ पोखरेलले स्थानीय र प्रदेश सरकारले गर्न नसकेका विकास निर्माणका कामहरु केन्द्र सरकारमा सिफारिस गर्न जनप्रतिनिधिलाई सुझाव समेत दिए ।

उप–प्रधानमन्त्री पोखरेलले चुनावका बेला जनताको बीचमा गरिएका, घोषणा पत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिवद्धता पूरा गर्न केन्द्रीय सरकार लागिपरेकोसमेत उल्लेख गरे । नेकपाको सरकारले काम गरेन भन्नेहरुले सरकार मात्रै नभई प्रणाली नै परिवर्तन भएको नबुझेको बताए । ‘मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको हो’ उनले भने ।

उनले सरकार अहिलेसम्म ऐन कानुन निर्माणमा केन्द्रित भएकाले अब पूर्वाधार विकासमा जुट्ने बताए । ‘अहिलेसम्म हामी ऐन कानुन निर्माणमा केन्द्रित भयौं । अब विकास गर्ने समय हो । जब सरकार विकासमा होमिन्छ अनि अहिलेका कामको परिणाम पनि देखिन्छ’, उनले भने ।

Loading...