चारकोशे जंगलमा बस र कार ठोक्किँदा ४ जनाको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

धरान, ३० चैत, कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पर्ने चारकोशे जंगलमा शुक्रबार राती भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । राती करिब ११ बजेतिर धरानबाट इटहरीतर्फ जादै गरेको बा २० च ४०७६ नम्बरको कार सोही दिशामा जाँदैै गरेको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किन पुग्दा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु सबै कारमा सवार हुन् । मृत्यु हुनेमा कार चालक सुन्दर हरैचा नगरपालिका ४ का ४५ वर्षीय गोविन्द बस्नेत, इटहरी ४ का ३० वर्षीय अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका २७ वर्षीय जनक बुढाथोकी र इटहरीकै २८ वर्षीय मदन लिम्बू रहेका छन् । चालक बस्नेतको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो भने अन्यको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार शुक्रबार राती तीब्र गतिमा गुडेको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा ट्याक्टरको चक्कामा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । कार ठोक्किए पनि अनियन्त्रित भएर ट्याक्टर सडक किनारको नालीमा खसेको थियो भने कार इटहरीबाट धरान आउदै गरेको को १ ख ४७६१ नम्बरको बससँग ठोक्किन पुगेको थियो । बस खनारस्थित एक उद्योगका मजदुर बोकेर धरान आउदै गरेको थियो ।

दुर्घटनामा अन्य आधा दर्जन घाइते भएपनि उनीहरु सामान्य छन् ।

Loading...