सरकारले भ्रष्टाचारलाई पार्टीगत र संस्थागत गर्यो : कांग्रेस नेता केसी

मुख्य समाचार राजनीति

पोखरा, ३० चैत, कांग्रेस नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली सरकारले भ्रष्टाचारलाई पार्टीगत र संस्थागत गरेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीको ८ औं अधिवेशनको उद्घाटनमा बोल्दै उनले सरकार नै भ्रष्टाचारी जोगाउन लागिपरेको बताए ।

सरकारले राज्यको साधन श्रोतको चरम दुरुपयोग गरेको उनले आरोप लगाए । केसीले सरकार नीतिगत रुपमै विचलित भई लोकतन्त्रको भावना विपरित अदालत, प्रेस र सेनामाथी निरंकुशता लाद्न खोजेको समेत उनले बताए । कांग्रेसले आफूलाई रुपान्तरण नगरी सुख नभएको उनले बताए । आत्मसम्मानका साथ पार्टीले हरेक कार्यकर्तालाई जिम्मेवारी दिनुपर्नेमा उनको जोड थियो ।

पार्टी प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले सरकारले परामर्शदाताका नाममा ३ अर्ब रुपैयाँ कार्यकर्तालाई बाँड्ने गरेको आरोप लगाए ।

भ्रष्टाचार मेलम्चीमा मात्र होइन वाइडबडी, बुढीगण्डकीजस्ता राष्ट्रिय महत्वका योजनामा ओली सरकार फसिसकेको उनले बताए । नेता शर्माले सरकार विचार र दर्शनमा प्रष्ट नभएको आरोप लगाउँदै उत्तर कोरियाको जस्तो शासन प्रणाली हो वा लोकतान्त्रिक, प्रष्ट पार्नुपर्ने बताए ।

Loading...