सिन्धुली कांग्रेसद्वारा बीपी राजमार्ग अवरोध

मुख्य समाचार राजनीति

सिन्धुली, ३० चैत, यहाँको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै शनिबार बीपी राजमार्ग बन्द गरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापामगर माथि कार्यकक्षमै दुब्र्यवहार भएको र दुर्व्यवहार गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेसले विपी राजमार्गसहित जिल्लाभर विभिन्न स्थानमा यातायात अवरोध गरी बन्द गरेको हो ।

गत बिहीबार गाउँपालिका अध्यक्षको कार्यकक्षमै गई उपभोक्ता समितिको भुक्तानी गर्न आलटाल गरेको आरोपसहित स्थानीय मधु कटवालले आफूमाथि दुर्व्यवहार गरेको गाँउपालिका अध्यक्ष थापामगरको भनाई छ । समितिले ३४ लाख ९२ हजार मध्ये पहिलो किस्ता १५ लाख रुपैंया लगिसकेको बाँकी रकम निकासामा ढिलाई भएको भन्दै कटवालले हातपात गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

‘जनप्रतिनिधिलाई कार्यकक्षमै गएर कुटपिट गर्नेलाई नेकपाका सांसदको दबाबमा जिल्ला प्रहरी कार्यालयले उन्मुक्ति दिएको छ’, नेपाली कांग्रेसका जिल्ला सभापति उज्ज्वलप्रसाद बरालले भने, ‘कानुनी राज्यको खिल्ली उडाउने काम भएको छ ।’ उनले दुई तिहाईको सरकारको दम्भलाई प्रहरी प्रशासनले समेत सघाएको आरोप लगाए । ‘उपभोक्ता समितिका अध्यक्ष सुर्दशन बराललाई अनुसन्धान गरौ, अनुसन्धान गरेर जे निष्कर्ष निस्किन्छ हामी मान्छौ भन्दा प्रहरीले दिउँसो बोलाएर बेलुका छलफल नै नगरी छाडियो’, उनले भने, ‘अन्याय गर्नेलाई सांसदको जिम्मा लगाए भनेर पाइदैन ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले हातपात गर्ने मधु भनिने सिद्धिबहादुर कटवाल फरार रहेको र उपभोक्ता समितिका अध्यक्ष सुर्दशनलाई तारेखमा छाडिएको बताए । सिद्धिबहादुरको उक्त योजनामा स्काभेटर मेसिन चलाइएको स्थानीयले बताएका छन् । दोषिलाई कारबाही नभएसम्म चरणबद्ध आन्दोलन गर्ने कांग्रेस सभापति बरालले जानकारी दिए ।