अझै त इमान्दारिताको खडेरी लागेको छैन !, ‘भेट्टाएको एक लाख फिर्ता’

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सर्लाही, ३० चैत, गोजीमा राखेको पैसा पकेट मार्ने मात्र हैन दिनदहाडै नगद एवं सरसामान लुट्ने जस्ता चोरी डकैती घटनाका समाचार बाक्लै आईरहेका हुन्छन् । दिनदुगूना रात चौगुनाको दरले चोरी डकैती बढ्दो छ । ईमान्दारिताको खडेरी बढिरहेको छ । तर सर्लाहीको नवलपुर स्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको नगद १ लाख रुपैंया सम्बन्धित धनीलाई फिर्ता गरेर उदाहरणीय कार्य गरेका छन् । चौध वर्षीय बालकले भेट्टाएको १ लाख रुपैंया नगद सम्बन्धित धनीलाई फिर्ता गरिएको हो ।

लालबन्दी नगरपालिका–१, नवलपुर निवासी नथुनी साहले हराएको एक लाख रुपैंया नगद शनिबार फिर्ता पाएका हुन् । नवलपुर चोक स्थित ज्ञानज्योती पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो उक्त रकम भेट्टाएका थिए । रकम भेट्ने बितिकै आर्यनले बुबा अजयलाई लगेर दिएका थिए ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव निरीक्षक सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहबरमा अजय र आर्यन बाबुछोराले नथुनीलाई नगद फिर्ता गरेका छन् । उक्त भेटिएको रकम नथुनी साहको भएको पुष्टी भएपछि ईलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरीको रोहबरमा फिर्ता गरिएको आर्यनका बुबा अजयले बताए ।

नथुनीले आफूले किनेको जग्गाधनीलाई दिन आफन्तसँग तीन लाख रुपिँया सापटी लिएर तिर्न जाने क्रममा १ लाखको बण्डल भने बाटैमा खसालेका थिए ।