मस्तिष्क मृत्यु बारे जनचेतना फैलाउन सके धेरैको जीवन बचाउन सक्छौः डा. पुकारचन्द्र श्रेष्ठ

अन्तर्वार्ता मुख्य समाचार विषेश समाचार

मस्तिष्क मृत्यु भएकाको शरीरबाट आठ वटासम्म अंग दान गर्न सकिन्छ । तर यो जानकारी कमैलाई मात्र छ । भएकाले पनि अन्धविश्वासका कारण अंग दान गर्नबाट हिच्किचाउने गर्छन् । मस्तिष्क मृत्यु भएकाको शरीरबाट अंग दान गर्न सकिन्छ भन्ने जनचेतना नहुँदा वर्षेनी हजारौ अंग माटोमै खेर गइरहेको छ । करीब ८० प्रतिशत मस्तिष्कको मृत्यु सडक दुर्घटनाका कारण हुने गर्छ ।
मुलुकभर वर्षेनी करीब एक हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमानित तथ्याङ्क छ । तर जनचेतनाको अभाव र अस्पतालबीच समन्वयको अभाव हुँदा यी अंगहरु यसै खेर गइरहेका छन् । यसै सन्दर्भमा आजको खबरले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरेको छ ।

मस्तिष्क मृत्यु भनेको के हो ?

मस्तिष्क मृत्यु भनेको कुनै टाउको कुनै गम्भीर खालको चोटपटक लाग्यो । जस्तै: सडक दुर्घटनामा, रुखबाट या अग्लो ठाउ“बाट खसेर हुन सक्छ । कसैलाई उच्च रक्तचापका कारण नसा फुटेर या ब्लक भएर मस्तिष्कघात हुन सक्छ । यी विभिन्न कारणले गर्दा मस्तिष्कमा चोट लाग्यो र उपचार सफल भएन भने मस्तिष्कले गर्ने कामहरु पूर्ण रुपमा बन्द हुन्छ । त्यस्तो अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ । चिकित्सा विज्ञानमा त्यसको आफ्नै किसिमले परीक्षण गरिन्छ । विशेषज्ञले परीक्षण गरेर व्यक्तिको मस्तिष्क मृत्यु भए÷नभएको यकिन गर्छ । मस्तिष्क मृत्यु भएको अवस्थामा अन्य अंगहरु जस्तै भेन्टिलेटरमा श्वासप्रश्वास चलाइरहेको हुन सक्छ । औषधिले मुटुको धड्कन चलाइराखेको हुन सक्छ । तर मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानमा पूर्ण रुपमा मृत मानिन्छ । सो व्यक्तिको अरु अंगहरु विस्तारै बन्द हुँदै जान्छ । त्यसैले जनमानसमा मस्तिष्क मृत्यु भनेको पूर्ण रुपमा मृत्यु हो भनी बुझाउन अत्यन्त जरुरी छ ।

मस्तिष्क मृत्यु भएकाको शरीरबाट निकालिएका अंग कति समयसम्म काम गर्छ या भनाै अरुमा पत्याराेपण गर्न मिल्छ ?

मस्तिष्क मृत्यु भनेको पूर्ण रुपमा मृत्यु नै भएकाले त्यस्तो शरीरबाट जति सक्दो चा“डो अंग निकाल्नुपर्छ । अंग चलिरहेकै अवस्थामा दान दिन सकियो भने अरु धेरै व्यक्तिलाई प्रत्यारोपण गरेर बचाउन सकिन्छ । जस्तो एउटा मस्तिष्क मृत्यु भएकाको शरीरबाट दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एउटा कलेजो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, छाला, आँखा गरी आठ वटा अंगहरु अन्य व्यक्तिलाई प्रत्यारोपण गरेर बचाउन सकिन्छ । नेपालमा अहिले मिर्गौला, कलेजो, छाला र आ“खा प्रत्यारोपण सम्भव छ । यी अंगहरु जति सक्दो चाँडो स्वस्थ अवस्थामै निकाल्न सकियो भने त्यसले राम्रो काम गर्छ । त्यसैले ढिला गर्नु हुँदैन । मस्तिष्क मृत्यु घोषणा हुन साथ तत्कालै अंगहरु निकालेर प्रत्यारोपण गर्नुपर्छ ।

त्यसो भए मस्तिष्क मृत्यु भएकाको शरीरबाट निकालिएका अंगहरु सबै तत्कालै प्रत्यारोपण गर्नुपर्ने हो ?

त्यसमा विभिन्न अंगहरु विभिन्न समयमा प्रत्यारोपण गर्नुपर्छ । त्यसको पनि समय सीमा छ । जस्तै: मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङक्रियाज १० देखि १२ घण्टा, फोक्सो र मुटु ४ देखि ६ घण्टा भित्र प्रत्यारोपण गर्नुपर्छ ।

यी सबका लागि यहाँहरुले अन्य अस्पतालसँग के कसरी समन्वय गर्नु भएको छ ?

नेपाल सरकारले प्रत्यारोपण ऐनमै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय इकाइ तोकेको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यु भएको छ भने सो अस्पतालले इकाईलाई खबर गर्नुपर्छ । समन्व इकाइले विभिन्न बिरामीको अभिलेख राखेको छ । अभिलेख अनुसार कुन बिरामीले अंग पाउँछ भनी प्राथमिकीकरण गरिएको हुन्छ । त्यसमा धेरै समयदेखि दाताको पखाईमा बसेका व्यक्तिले त्यो अंग पाउँछन् । अंगको म्याच राम्रो भएकाले पाउँछन् । महिला र पुरुषमा महिलाले पाउने संभावना बढी हुन्छ । मापदण्द अनुसार सबैभन्दा सबै हेरेर उनीहरुले अंग प्राप्त गर्न सक्छन् ।

तर कुनै अंगमा रोग लागेर मृत्यु भएको छ भने त्यस्तो मृत शरीरको व्यक्तिबाट निकालिएको अंग काम लाग्छ या लाग्दैन ?

क्यान्सरको कुरा गरौ । फैलिने खालको क्यान्सर हो भने मिल्दैन । त्यो क्यान्सर अंग लिएको व्यक्तिलाई सर्न सक्छ । मिर्गौला फेल भएर मृत्यु भएकाको शरीरबाट जा“च गर्दा कलेजो, फोक्सो काम लाग्ने छ भने प्रत्यारोपण गर्न मिल्छ । त्यसैले प्राविधिक रुपमा परीक्षण गरेर भन्ने कुरा हो यो ।

वर्षेनी हजारौ अंगहरु यसै खेर गइरहेका छन् । तर पनि मानिसले यसको महत्व बारे बुझ्न सकिरहेका छैनन्, यस्तो किन भइरहेको छ ?

यसमा व्यापक जनचेतनाको आवश्यकता छ । हामीले मस्तिष्क मृत्यु भएको खबर पनि पाउँछौ । मृतकको परिवारलाई हामीले सम्पर्क गर्दा उहाँहरुले अंग दान नै गर्न मान्नु हुन्न । भयो हामीले अंग दिदैनौ बरु घाटमै लिएर जान्छौ भन्ने धेरै हुनुहुन्छ ।

यसमा सरकारले या सम्बन्धित निकायले के गर्न जरुरी छ ? यस केन्द्रले जनचेतनामा वृद्धि गर्न के गरिरहेको छ ?

यो केन्द्र पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय हो । यसले आफ्नो हिसाबले प्रचार–प्रसार गरेकै हो गरिपनि रहेको छ । तर पुगेको छैन । मस्तिष्क मृत्यु हुने परिवारले अंग दान गरे एक लाख दिने व्यवस्था छ । अंग प्रत्यारोपण गर्ने अस्पताललाई पनि त्यसबाट ५० हजार रुपैयाँ दिने व्यवस्था पनि छ ।

चुनाैतीहरु के के छन् ?

मुख्य कुरा भनेको जनचेतनाको अभाव, धार्मिक अन्धविश्वास । संसारमा मस्तिष्क मृत्युबाट भएका प्रत्यारोपणको सरुवात गाह्रो तरिकाले नै भएको पाइन्छ । सुरुमा कसैले पनि अंग दान गर्न मानेकै होइन । तर अहिले पश्चिमा मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएकाको शरीरबाटै हुन्छ । यसमा हामी सबैको प्रयासको जरुरी छ । नेपालमा यति धेरै मस्तिष्क मृत्यु हुन्छ । यी सबै अंग यसै खेर गइरहेका छन् । यसको सदुपयोग गर्न सक्यौ भने नेपाललाई हामी मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सक्छौ ।