ओम प्लाई उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

मुख्य समाचार समाज

बाँके, २९ चैत, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शुक्रबार बिहान करीब ४ बजेतिर उद्योगमा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट करीब ५÷६ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले जानकारी दिए । ‘करीब ५÷६ करोड जतिको क्षति भएको कुरा उद्योग सञ्चालकले भन्नु भएको छ, क्षति एकीन गर्न बाँकी नै छ’, उनले भने ।

आगलागी लगत्तै पुगेका प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको सहायताले बिहान ७ बजेतिर नियन्त्रणमा लिएका थिए ।

आगलागीको कारण खुल्न नसकेपछि बोइलर मेसिनबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ । घटनाको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठौंरको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ ।