कास्की २ को उपचुनाव जितेर पार्टी एकताको सन्देश दिन देउवाको निर्देशन

मुख्य समाचार राजनीति विषेश समाचार

कास्की, २९ चैत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नं. २ को उपनिर्वाचन जितेर एकताको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन् । तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको डेढ महिना अघि हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ खाली रहेको छ ।

उक्त क्षेत्रमा हुने उपचुनावमा चुनाव जितेर पार्टी एकताको सन्देश दिनुपर्ने भन्दै उनले भने, ‘यो क्षेत्रमा हुने चुनावमा सबै मिलेर चुनाव जिताउनुस्, यसो गर्नुभयो भने अन्तरघातको अन्त्य र गुट उपगुट अन्त्य भई पार्टी एकताको सन्देश जान्छ ।’ पार्टी एकताको सन्देश पोखराबाट दिन सके त्यसको प्रभाव देशैभर देखिने उनको भनाई थियो ।

नेपाल महिला संघ पोखरा महानगर समितिले नयाँ वर्ष २०७६ सालको शुभारम्भको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पोखरामा हुने उप चुनावबाट गुट, उपगुट र अन्तरघातको अन्त्य गरी पार्टी एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

सभापति देउवाले सरकारको क्रियाकलापप्रति असन्तुष्टी जनाए । उनले सरकारले एक वर्षमा एउटा पनि काम गर्न नसकेको शुक्रबार पनि दोहोर्याए । उनले भने, ‘वर्तमान सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न सकेको छैन, बरु भ्रष्टाचार र बलात्कार बढेको छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको १० महिनाभित्र महाधिवेशन नभए कांग्रेसलाई गम्भीर धक्का लाग्ने चेतावनी दिए । कम्युनिष्टको उद्देश्य नै कम्युनिजम ल्याउने भएको बताउँदै उनले भने, ‘देशमा कम्युनिजम ल्याउन रोक्ने हो भने तोकिएको मितिमा कांग्रेसले महाधिवेशन सक्नुपर्छ, हैन भने कांग्रेसलाई गम्भीर धक्का लाग्छ, अपुरणीय क्षति पुग्छ, यो कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।’

महाधिवेशनपछि कांग्रेस सक्रिय भएर कम्युनिजम रोक्नुपर्ने उनको भनाई थियो । नेता पौडेलले पार्टी एकताको सन्देश पोखराबाट दिनसक्नुपर्ने बताउँदै त्यो वातावरण नेतृत्वले मिलाइदिनुपर्ने बताए ।