हात्तीको दाह्रा तथा कस्तुरीको वीनासहित ५ जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, २८ चैत, काठमाडौं महानगरपालिका-३ सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थानसहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरिएको । पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका- १० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका-३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका-६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका-४ का ३१ वर्षीय फर्सुराम राई रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बसपार्कबाट संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो करिब २५ ग्रामसहित काठमाडौं गोकर्णेश्वर बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-९ का ४० वर्षीय खिमबहादुर घर्ति मगरलाई गत चैत १७ गते पक्राउ गरेको छ ।

पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।

Loading...