पशु व्यवसायमाथिको अवरोध नहटाए आमरण अनशन

कृषि मुख्य समाचार

काठमाडौं, २८ चैत, नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे/जसरी आफूहरुले राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरी ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको सहमतिमा मात्रै गर्नुपर्ने पनि संघले बताएको छ ।

संघले भारतको पशु चिकित्सकले जाँचेको पशुलाई नेपाल सरकारले मान्यता दिएको तर बोर्डरमा रहेका नेपाली पशु चिकित्सकहरुले जाँचेका पशुहरुको मान्यता नदिएकोमा पनि असन्तुष्टी जनाएको छ ।

आफूहरुको जायज माग पूरा नगरे सरकारविरुद्ध रेष्टुरेन्ट व्यवसायी, होटेल व्यवसायी, राँगा, भैंसीका मासु व्यवसायी, तराईका पशु हाटबजार सञ्चालकहरु, स्थानीय निकाय, प्रदेश सरकार आम उपभोक्तालाई एकताबद्ध गरेर बन्द, हड्ताल तथा संघर्षमा उत्रिने पनि चेतावनी दिएको छ ।

संघका कार्यालय प्रमुख आत्माराम पौडेलले आवश्यक परे आफूहरु पशु सेवा विभाग वा मन्त्रायलय परिसरमै आमरण अनशन बस्न पनि तयार रहेको चेतावनी दिए ।