सर्लाही पुगेर मिनेन्द्रले भने, ‘सत्ताधारी दलले मधेशी समुदायलाई विदेशी नजरले हेर्यो’

मुख्य समाचार राजनीति

सर्लाही, २७ चैत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले मधेशी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन् । बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रभावशाली नेता रिजालले सो आरोप लगाएका हुन् ।
‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ’, उनको आरोप थियो, ‘जुन् कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ ।’ दुईतीहाईको सरकारले यथाशिघ्र संसद्बाट नागरिकता विधेयक पारित गराएर जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रमाणपत्र दिनुपर्नेमा गृह मन्त्रालयको सामान्य परिपत्रको आधारमा वितरण थाल्नु सरकारको नियत ठिक नदेखिएको रिजालले दाबी गरे । ‘संविधानमै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने व्यवस्था छ, सर्वोच्चले पनि यसअघि नै कानून बनाएर नागरिकता दिनु भनेर आदेश दिइसकेको छ’, उनले भने, ‘तर संसदबाट विधेयक पारित गरेर नागरिकता ऐन जारी गर्ने सवालमा सत्ताधारी नेकपाका सांसद्हरुले नै किचलो गरिरहेका छन्, गएको अधिवेशनमै पास हुनुपर्नेमा पेश नै हुन सकेको छैन ।’

दुईतीहाईको सरकारले चाह्यो भने तुरुन्त नागरिकता ऐन जारी हुने र मधेशी समुदायले सहज रुपमा नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने उनको दाबी छ । विदेशीलाई नभई वास्तविक मधेशीले सहज रुपमा नागरिकता प्रमाण पत्र पाउनुपर्ने नेपाली कांग्रेसको एकमत धारणा रहेको रिजालले बताए ।

नेपाली कांग्रेस लालबन्दी नगर समितिद्वारा बुधबार दिउँसो आयोजित वृहद् कार्यकर्ता भेलालाई समेत नेता रिजालले सम्बोधन गरेका छन् । लालबन्दी पार्टी प्यालेसमा प्रशान्त आचार्यको अध्यक्षता रहेको कार्यकर्ता भेलालाई कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय, तरुण दलका महासचिव भूपेन्द्रजंग शाही लगायत नेताले सम्बोधन गरेका थिए ।