सगरमाथाको उचाई नाप्न टोली हिड्यो, प्रधानमन्त्री र मन्त्रीद्वारा शुभकामना

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौं, २७ चैत, नेपालले पहिलो पटक सगरमाथाको उचाई मापन सुरू गरेको छ । नेपाल सरकारले आफ्नै लगानीमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो ।

वि.सं २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको हो ।

सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरू बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माला र टीका लगाएर गाइडसहितको उक्त टोलीलाई विदाई गरेका हुन् ।

उचाई मापनका निम्ती आवश्यक पर्ने यन्त्रहरूसहित प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्नेछन् । जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसुत्रको काम गर्ने र प्रमुख गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापन गर्नेछन् ।

उक्त कार्यका निम्ती पाँच जना गाइडहरू खटाइएको छ । पिक प्रमोशन प्रा.लि मार्फत छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गर्नेछन् भने आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नेछन् ।

यसैबीच त्यस अवसरमा सगरमाथाको उचाई मापनका लागि जान लागेको टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुभकामना दिएकी छिन् । कार्यक्रममा टोलीलाई शुभकामना दिँदै मन्त्री अर्यालले चुनौतीपूर्ण र सरकारले गरेको ऐतिहासिक कार्य भएको हुनाले सावधानीपूर्वक जिम्मेवारी पुरा गर्न आग्रह गरिन् । ‘हामीले आफ्नै तर्फबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्दैछौ’, मन्त्री अर्यालले भनिन्, ‘सरकारले तपाईंहरूलाई ठूलो जिम्मेवारी दिएको छ । जिम्मेवारी पुरा गर्दै सावधानीपूर्वक काम सम्पन्न गर्नुस् शुभकामना ।’