सुवास खरेलको नमुना पान खेती !

कृषि मुख्य समाचार विषेश समाचार

केशवराज भण्डारी, झापा, २६ चैत, झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षीय सुवास खरेल काली बङ्गला जहाजी जातको पान खेतीमा लागेका छन् । २०७४ सालबाट करीब ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको ब्यवसायिक पान खेतीबाट खरेल मनग्य आम्दानी गर्दै छन् ।

भारतको कलकत्ता स्थित कागदिपबाट विरुवा र सोहि स्थानबाट प्राविधिक समेत ल्याएर सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित काली बङ्गला जहाजी पान खेती झापा जिल्लाका लागि मात्र होइन नेपालमै पहिलो र नमुना खेती बनेको छ ।

नेपालमा खाइने विभिन्न स्वादको पानकालागि पत्ताहरु भारतबाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको बिक्रीसमेत गरिसकेका छन् । ब्यवस्थापन संकाय तर्फ वि.वि.एस चौथो वर्ष अध्ययन गरिरहेका सुवास भन्छन्, ‘पढाइ ब्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच बनाएर पान खेतीको सुरुवात गरेको हुँ ।’ यो खेतीबाट केही गर्न सकिने सम्भावना देखेको खरेल बताउँछन् ।

सुवासका वुवा त्रिलोचन खरेलले सुरुवात गर्नु भएको पान खेतीबाट उत्पादित पानले बजारको माग धान्न नसकेको बताउँदै उनी भन्छन्, ‘अरु कृषि उपजका लागि बजारको समस्या सुन्ने गर्छु तर मलाई पान बेच्न न कसैलाई गुहार्नु पर्छ, न त हाट बजार धाउनु नै पर्छ, घरमै ब्यापारीहरु आउनु हुन्छ ।’ घरबाटै जाडो सिजनमा प्रति पत्ता रु ५ र गर्मी याममा प्रति पत्ता ३ रुपैयाँका दरले बेच्ने गरेको उनले सुनाए ।

बजारमा ताजा पानको माग अत्यधिक रहेको हुँदा बजार मागअनुसार यसको खेती विस्तार गर्ने योजना रहेको बताउँछन् युवा उद्यमी सुवास । सुरुमा भारतबाट ११ सय विरुवा ल्याएर खेती प्रारम्भ गर्दा रु ५ लाख लगानी भएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको बताए पनि हालसम्म कुनै पनि अनुदान पाएको छैन भारतबाट विरुवा ल्याउँदा उल्टै चर्को भन्सार तिरेर ल्याउनु पर्यो ।’ भारतबाट विरुवा ल्याउँदा प्रति विरुवा नेपाली रु १५ परेको बताउँदै सुवास भन्छन्, ‘११ सय विरुवा रोपेको १ वर्षमै लगभग १० हजार विरुवा बनाउन सफल भएको छु ।″

यो जातको पान खेती गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय समयमा सिंचाइसँगै भिटामिन दिनु पर्ने हुन्छ । पान खेती गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पती उम्रन दिनु नहुने साथै रजश्वला भएका महिलाहरुलेसमेत पान खेती गरिएको ठाउँमा जानु नहुने, दैनिक सफाइमा ध्यान दिनु पर्ने, हावाहुरीबाट जोगाउनु पर्ने लगायतका सावधानीहरु अपनाउनु पर्ने बताउनु हुन्छ पान खेतीमा सहयोग गरिरहनु भएका लिला प्रसाद खरेल ।

साधारणतया झापा जिल्लामा सुपारी, आँप, लगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने त्यसरी अन्य बोटमा लगाउने पान भन्दा फरक जात तथा गुणस्तरको भएका कारण काली बङ्गला जहाजी जातको पान खेतीले बजार राम्रोसँग लिने तथा बजारको समस्या नहुने देखिन्छ ।