व्यक्ति र प्रतिशतका आधारमा बन्ने गुटबन्दी अन्त्य हुनुपर्छ : कांग्रेस महामन्त्री खड्का

मुख्य समाचार राजनीति विषेश समाचार

सुर्खेत, २६ चैत, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको गुटबन्दीको अन्त्य आवश्यक रहेको बताएका छन् । उनले विचारका आधारमा पार्टीभित्र प्रतिस्पर्धा गर्ने संस्कृतिको विकास गर्नुपर्ने अहिलेको आवश्यकता रहे पनि ‘व्यक्ति र प्रतिशतका आधारमा बन्ने गुटबन्दीले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर’ बनेको बताए ।

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा महामन्त्री खड्काले भने, ‘व्यक्ति नाममा र प्रतिशतका आधारमा गुटबन्दी गर्ने छुट कसैलाई छैन ।’ उनले विचारको मन्थनबाट हुने प्रतिस्पर्धाले पार्टीलाई समृद्ध बनाउने बताए ।

महामन्त्री खड्काले वर्तमान सरकार सर्वसत्तावादको अभ्यासमा लागेको आरोप समेत लगाए । ‘नेपाली जनताको मत पाएर दुई तिहाईको हाराहारीमा बनेको वर्तमान सरकारले जनतालाई निराशा, असुरक्षा, अस्तव्यस्तता र त्रास मात्रै दिएको छ, सिंगो मुलुक आक्रान्त बन्दै गएको उनले बताए ।