[अनुसन्धानमूलक लेख] नेपाली लोकगीतमा अभिव्यक्त सामाजिक इतिहास

मुख्य समाचार विचार

– डा. लक्ष्मी पोख्रेल
साहित्यको पुरानो विधा लोकगीतमा विगतदेखि हालसम्मका समाजका विविध गतिविधिहरूको उल्लेख भएको पाइन्छ । एक प्रकारले लोकगीत लोकजीवनकै इतिहासका रूपमा जीवन्त रहन्छ । परम्परादेखि सिर्जित अनि हस्तान्तिरत हुँदै आउँदा लोकगीतमा कतिपय कुरा हराउँदै र कतिपय कुरा थपिँदै पनि जाने हुँदा लोकगीतमा एउटै कालिक पृष्ठभूमि नभएर विभिन्न समयका घटना तथा तथ्यहरूको अभिव्यक्ति पाइन्छ । समाजका विविध पक्षहरूको विगत नै सामाजिक इतिहास हो । समाज विकासका विभिन्न चरण वा अवस्था, सामाजिक सङ्घ–संस्थाहरूका स्थापना र गतिविधि अनि सामाजिक/सांस्कृतिक आन्दोलन र उपलब्धिहरू जस्ता घटनाहरू नै सामाजिक इतिहासका रूपमा रहेका हुन्छन् । कला, दर्शन तथा साहित्यमा पाइने विगतका घटनाहरू, जीवन भोगाइ र अनुभवहरू नै सामाजिक इतिहासका विषय हुन् ।

यहाँ लुम्बिनी अञ्चलमा सङ्कलित नेपाली लोकगीतहरूका आधारमा नेपाली समाजको विकासमा आएका विभिन्न आरोहअवरोह सहितको राजनैतिक इतिहासदेखि लिएर विभिन्न समय क्रममा भएका सामाजिक सङ्घ, संस्थाका स्थापना र गतिविधिहरूलाई नै सामाजिक इतिहासका रूपमा लिइएको छ । समाज विकास विभिन्न चरणका रूपमा दास युग, सामन्त युग र पूँजीवादी युग जस्ता स्थूल विभाजनहरू देखा पर्दछन् भने कालिक दृष्टिले विभिन्न साना युग सन्दर्भ पनि रहन्छन् । त्यसै गरी युद्धका घटना, राजनैतिक आन्दोलन, विभिन्न प्रथाहरूका अन्त्य जस्ता घटनालाई ऐतिहासिक सन्दर्भमा नै हेर्न सकिन्छ । यहाँ यिनै सन्दर्भमा सामाजिक इतिहासको अध्ययन गरिएको छ ।

राजनैतिक इतिहासका विभिन्न चरणका रूपमा २००७ सालभन्दा पूर्वको अवस्था, २००७ सालपछि २०४६ सालसम्मको अवस्था र २०४६ देखि हालसम्मको अवधिमा सामाजिक व्यवस्थामा आएका विभिन्न गतिविधि र परिवर्तनहरू पहिल्याउने प्रयास गरिएको छ । यस क्रममा ऐतिहासिक घटनाका रूपमा युद्धकालीन समाज, राजनैतिक आन्दोलन, विभिन्न प्रथाहरूका अन्त्यका घटना, भूमि सुधार, शैक्षिक घटना तथा उपलब्धिजस्ता कुरालाई समयक्रमका आधारमा अध्ययन गर्ने प्रयास गरिएको छ ।

Loading...