अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

अर्घाखाँची, २५ चैत, सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतर्फ जादै गरेको यात्रुवाहक जीप अर्घाखाँचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको निधन भएको छ । लु १ ज १२२९ नम्बरको जीप सोमबार दिउँसो २ बजेतिर भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाझ उकालोमा उक्लदै गर्दा ब्रेक फेल भएर सडकबाट तल खसेको हो ।

दुर्घटनामा परि प्युठान ऐरावती गाउपालिका–२ बस्ने वर्ष ५० का धनबहादुर राना र ऐरावती बस्ने वर्ष १४ का मनिका आचार्यको घटनास्थलमै ज्यान गएको छ । अन्दाजी ६ वर्षीय बालकको सन्धिखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए । बालककोे परिचय खुलेको छैन ।

चौध सिटे जीपमा १८ जना यात्रु थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भैरहेको छ प्रहरीले जनाएको छ ।