रातेखोलामा कल्भर्ट बन्यो

आजको बजार मुख्य समाचार

केशवराज भण्डारी, झापा, २५ चैत, रातेखोलामा निर्माण सम्पन्न भएको बक्स कल्भर्टको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच प्रदेश सांसद वृखबहादुर प्रधान र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा सो कल्भर्टको उद्घाटन गरेका हुन् ।

रातेखोलामा ३५लाख २० हजारको लागतमा सम्पन्न १० मिटर लम्बाई ५.५ मिटर चौडाइ भएको बक्स कल्भर्ट निर्माण गरिएको छ । उक्त कल्भर्ट निर्माण गर्न अर्जुनधारा नगरपालिकाबाट २९ लाख ७५ हजार रुपैंयासहित स्थानीय सहभागिताबाट ५ लाख ४५ हजार बेहोरिएको सामाजिक अगुवा योगप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेकपाका नगर सचिव राजु शेर्मा, नेकपाका वडा अध्यक्ष निर्माण आचार्य, नेपाली कांग्रेसका पुण्य ओझा, अर्जुनधारा नगरपालिका वडा नं.–२ अध्यक्ष रघुनाथ खनाल, वडा सदस्य उत्तम समाल, शान्ति सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष यामप्रसाद भट्टराईसहित स्थानीय उपभोक्ताहरुको उपस्थिति कल्भर्टको उद्घाटन गरिएको आचार्यले जानकारी दिए ।

कल्भर्ट निर्माण सम्पन्न भएसँगै रोङ गाउँपालिकाका वडा– १, २ सहित अर्जुनधारा नगरपालिका वडा–१, २ र ३ का जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।