ज्ञान, विज्ञान माध्यमिक विद्यालयको २७औँ अभिभावक दिवस सम्पन्न

मुख्य समाचार शिक्षा

ललितपुर, २३ चैत, ललितपुरको नखिपोटमा रहेको ज्ञान विज्ञान माध्यमिक विद्यालले २७औँ अभिभावक दिवस मनाएको छ । प्रतिनिधि सभाका सांसद, नेता, राष्ट्रिय हास्य कलाकार, गायक/गायिका आदिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

दिवसमा सांसद पम्फा भुसालले विद्यालय राम्रो हुनको लागि शिक्षक, विद्यार्थी,अभिभावक र सञ्चालक राम्रो हुनु पर्ने बताइन् । उनले ललितपुरमा १९ हजार देखि ५० हजारसम्म मासिक शुल्क लिने स्कुल रहेको बताउँदै ज्ञान विज्ञान स्कुलले कक्षा १० मासिक शुल्क २६ सय मात्र रहेकोमा खुसी प्रकट गर्दै महङ्गो स्कुलमा आफ्ना छोराछोरी पढाएर गुणस्तरिय शिक्षा दिन नसक्ने बताइन् । राज्यले सरकारी निकायमा काम गर्ने शिक्षक निजामती कर्मचारी, आर्मी, पुलिस सबैले सामुदायिक स्कुलमा आफ्ना बच्चालाई पढ्न नपढाएसम्म सामूदायिक स्कुल सुधार हुन नसक्ने बताइन् ।

प्रदेश सांसद राजकाजी महर्जनले बच्चाको प्रथम पाठशाला घर र द्वतीय शिक्षा लिने ठाउँ स्कुल भएकोले सबै संस्कार आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउँदै अहिले प्रविधिको विकासले आम अभिभावकहरु सामाजिक सञ्जालमा ब्यस्त रहने र बच्चाले मोबाईल खेलाउदा खुसी हुने समस्याले गर्दा पछिल्लो समयमा ठुलो समस्याहरु झेल्नु परेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हरि दाहालले स्कुलले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्न सकोस् तथा नयाँ डिजिटल माध्यमबाट शिक्षा दिन सक्ने बताए ।

सांसद मैना अछामीले सस्तो शुल्क लिँदैमा शिक्षामा गुणस्तर नहुने होइन विधार्थीलाई विभिन्न माध्यम र पाठ्य पुस्तक राखेर पनि राम्रो शिक्षा दिन सक्ने बताइन् ।

ललितपुर जिल्ला प्यावसनका अध्यक्ष राधाकृष्ण महर्जनले दक्षिण भेगमा शिक्षक सन्तलाल शाहले शिक्षामा पुर्याएको योगदानको प्रसंशा गर्दै अभिभावकहरुले मोबाईलमा भन्दा आफ्नो बच्चाको गृहकार्यमा ध्यान दिनुपर्ने बताए । पुस्तक महांसंघका पूर्व अध्यक्ष रघुनाथ महर्जनले शिक्षा महङ्गो नभई गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले नेपालको विकासको मुख्य आधार शिक्षा भएकाले शिक्षाको विकास विना संवृद्ध देशको विकास हुन नसक्ने बताए । स्कुलको यसै शैक्षिक सत्रबाट नयाँ डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गर्ने स्कुलका प्रधान्याधपक शंकर घिमिरेले बताए । घिमिरेले अभिभावकहरुले न्युन शुल्कमा आफ्ना बच्चालाई गुणस्तरीय शिक्षा दिन सक्ने बताए । उनले स्कुलले तराईमा हावाहुरीबाट पीडित जनतालाई २० हजार सहयोग गर्ने बताए ।

अभिभावक दिवसमा टोल सुधार समितिका अध्यक्ष, महिला समूह, खेलाडी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रिय लोकदोहोरी तथा हास्य कलाकारहरुको उपस्थिति रहेको थियो। स्कुलका छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रमबाट अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।कार्यक्रममा प्रथम, द्वीतिय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कृत पनि गरियो । राष्ट्रिय हास्य कलाकार राजा राजेन्द्रले सबैलाई हसाएका थिए ।