जीपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार

सर्लाही, २३ चैत, स्करपीयो जीपको ठक्करबाट शुक्रबार राती एक वृद्धको मृत्यु भएको छ । जिल्ला स्थित श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को २ च २१० नम्बरको स्करपियोले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते रामलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनापछि स्करपीयो प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

यसैबीच शुक्रबार साँझ जिल्लाको लालबन्दी नगरपालिका–१, नवलुरमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको भारतीय बीआर ३० आर ६२०२ नम्बरको मोटरसाइकल पैदलयात्री सोही ठाउँका ६५ वर्षीय जोगी दासलाई ठक्कर दिएर अनियन्त्रत भइ पल्टिएको थियो ।

दुर्घटनामा पैदलयात्री दाससहित मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–१२ का ४९ वर्षीय भाग्यनारायण मिश्र र मलङ्गवा नगरपालिका–१२ कै सञ्जय कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नवलपुरमा उपचार भइरहेको छ ।