रुखले च्यापेर कांग्रेस नेता घर्तीको निधन

मुख्य समाचार समाज

बागलुङ, २३ चैत, रुखले च्यापेर जिल्लाको निशीखोला गाउँपालिकामा कांग्रेस नेता हिमबहादुर घर्तीको निधन भएको छ । नेपाली कांग्रेस निशीका निवर्तमान उप–सभापतिसमेत रहेका निसीखोला गाउँपालिका—६ का ३५ वर्षीय घर्तीको रुख ढाल्ने क्रममा रुखले च्यापेर ज्यान गएको स्थानीय हेम सापकोटाले जानकारी दिए ।

रुख ढाल्ने क्रममा गम्भीर घाइते भएका घर्तीको हेलिकप्टरमार्फत पोखरा गण्डकी अस्पतालमा लगिएको थियो । उनको अस्पतालमा उपचार गर्ने क्रममा शुक्रबार मृत्यु भएको सापकोटाले जानकारी दिए । मृतक घर्तीको शवलाई एम्बुलेन्समार्फत शुक्रबार राति नै आफ्नै गाउँ निशीमा फर्काएर शनिबार दाहसंस्कार गरिएको छ ।

घर्तीको शवलाई नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर र संघीय सांसद ज्ञानकुमारी छन्त्यालले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।