आज हुने भनिएको ‘मातृभूमि कप क्रिकेट प्रतियोगिता’ स्थगित

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ चैत, कीर्तिपुर स्थित त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । प्रतियोगिताका आयोजक सिताराम कट्टेल (धुर्मुस) ले फेसबुकमा स्टाटस लेख्दै प्रतियोगिता स्थगित भएको जानकारी दिए ।

आज बिहानैदेखि मौसममा गडबढी आएको र खेल हुन नसक्ने अवस्था आएको भन्दै खेल स्थगित गर्नु परेको उनले बताएका छन् । उनले लेखेका छन्, ‘आजकालागि तय गरिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता लगातार परिरहेको बर्षाका कारण अवरूद्ध भएको छ । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा खेल हुन सकेन ।’

सम्पूर्ण तयारी पुरा भए पनि मौसमले साथ नदिएको कारण खेल स्थगित गर्नु परेको कट्टेलले जानकारी दिए । उनले भने, ‘सम्पूर्ण तयारीका बावजुद आज तय भएको खेल अर्को मिति सम्मकालागि स्थगित गरिएको जानकारी गराउँदछौ ।’

खेल हुने अर्को मिति पुनः तय गरिने कट्टेलले जानकारी गराए । सोही टिकटमा अर्को पटक खेल हेर्न पाइने उनले बताएका छन् । उनले भने, ‘अग्रिम टिकट खरिद गर्नु भएका महानुभावहरूले सोहि टिकट सुरिक्षत राखि खेल हेर्न सक्नुहुने छ ।’

कट्टेलले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण सहयोगार्थ सो प्रतियोगिताको आयोजना गरेका थिए । आजको खेलमा राष्ट्रिय क्रिकेट टिमका दुई टोलीबीच र कलाकारहरुबीच क्रिकेट प्रतियोगिता हुने बताइएको थियो ।

Loading...