औषधिमा भइरहेको सिण्डिकेट अब अन्त्य हुन्छः स्वास्थ्य राज्यमन्त्री यादव

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, २२ चैत, औषधिको आयात र वितरणमा हुँदै आएको सिन्डिकेट अब अन्त्य हुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले बताएका छन् । शुक्रबार नेपाल आयुर्वेद औषधि व्यवसायी संघको चौथो अधिवेशनको उद्घाटन गर्दै मन्त्री यादवले तत्कालै सिण्डकेट हटाउने तयारी भइरहेको बताएका हुन् ।

राज्यमन्त्री यादवले गुणस्तरीय औषधिमात्रै ल्याउन व्यवसायीहरुलाई आग्रह पनि गरे । नेपालमा नपाईने, तत्काल उत्पादन हुन नसक्ने र गुणस्तरीय औषधि निर्यात गर्न सीओपीपी लागू गरेको उनले बताए । सीओपीपीले व्यवसायीलाई गुणस्तरीय औषधि निर्यातमा नरोक्ने उनले बताए ।

नेपालको औषधिको गुणस्तर मापदण्ड आफ्नै हुनु पर्ने भन्दै मन्त्री यादवले डब्लुएचओ र जिएमपीको मापन सही नभएको बताए । उनले भने, ‘घर नेपालमा बनाउनु छ, अमेरिकाको स्टेण्डर्ड प्रयोग गरेर हुन्छ ?’ नेपाली जडिबुटी र हावापानीअनुसारको गुणस्तर मापन बनाउने पर्ने उनको भनाइ थियो ।

अर्को प्रसङ्गमा मन्त्री यादवले पटक पटक पैसा दिएर पनि वैद्यखानामा सुधार आउन नसकेकोले अब यस्ता संस्थाहरुलाई सुधारकालागि केही विशेष पहलको काम भइरहेको संकेत दिए । औषधि व्यवस्था विभाग, वैद्यखाना, आयुर्वेद विभाग, औषधि लिमिटेड जस्ता निकायहरुबीच पनि समन्वय हुन नसकेको भन्दै मन्त्री यादवले गुनासो पोखे । ‘यसको सुधारकालागि अब मन्त्रालयले नै पहल गर्ने छ’ मन्त्री यादवले भने ।

नेपालमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादन हुन नसकेको, क्षमतावान जनशक्ति उत्पादन हुन नसकेको, राम्रो र प्रविधियुक्त आयुर्वेद अस्पताल नभएको कारण विरामीहरु उपचारमा आयुर्वेद तर्फ आकर्षित हुन नसकेको भन्दै मन्त्री यादवले आयुर्वेदको ऐनमै खराबी रहेको औल्याए ।

आजै सम्पन्न हुने नेपाल आयुर्वेद औषधि व्यवसायी संघको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।