धादिङका ग्रामीण भेगबाट १६ थान भरुवा बन्दुक संकलन

मुख्य समाचार समाज

गल्छी (धादिङ), २२ चैत, जिल्ला प्रहरी कार्यालय धादिङले ग्रामीण भेगबाट १६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ । कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत एउटै गाउँपालिकाबाट १६ थान भरुवा बन्दुक संकलन गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी हतियार संकलन गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले जानकारी दिए ।

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ वैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सार्वजनिक सूचना बेवास्ता गरी अवैध रुपमा विष्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने एसपी वैदवारले जानकारी दिए ।

तस्विर: सांकेतिक