चितवनमा नाबालक छोरा र छोरीसहित आमाले गरिन् आत्महत्या

मुख्य समाचार समाज

भरतपुर, २२ चैत, चितवनमा नाबालक छोरा र छोरीसहित आमाले सामूहिक आत्महत्या गरेकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ को शशिनगर शहरी क्लिनिक टोलमा बसोबास गर्दै आएका एकै परिवारका तीन जनाले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा ३१ वर्षीया बुद्धिमाया आले मगर, १४ वर्षीया छोरी बिनिता र ११ वर्षीय छोरा सविन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनीहरु तीनै जनाले टीनले छाएको दुई पाखे घरमा रहेको फलामको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव बरामद गरिएको रेग्मीले बताए । ‘छोरा, छोरी र आमाले आत्महत्या गरेको घरमा भित्रबाट चुक्कुल लगाएर झुण्डिएको भेटिएको छ’ प्रवक्ता रेग्मीले भने, ‘बिहान घरमा कुनै चहलपहल नभएपछि प्रहरीलाई गाउँलेले खबर गरेका थिए ।’ घरभित्र तीन वटा सलको पासो लगाएर छोरा र छोरीको बीचमा आमा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए ।

बुद्धिमायाले शशिनगर कै मिलन चोकमा चिया पसल गर्दै आएकी थिइन् । बिहानै खुल्ने चिया पसल नखुलेपछि गाउँलेले घरको ढोकाको कप्टेरोबाट हेर्दा झुण्डिएको देखेका थिए । बुद्धिमायाका श्रीमान् नरबहादुर आले नेपाली सेनामा कार्यरत छन् ।