चर्चित लोकगायक खर्क बहादुर बुढामगर र लिलावतीले ‘युगल साँझ’ गर्ने

आजको म्यूजिक मुख्य समाचार

काठमाडौं, २२ चैत, चर्चित लोक गायक एवम् वरिष्ठ वाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले यही चैत्र २९ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।

शुक्रबार काठमाडौँमा सल्यान सरोकार समाजले उक्त ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले उक्त साँझको सम्पूर्ण तयारी भइसकेको स्पष्ट पारे । उनकाअनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तीले विश्वास दिलाए ।

सगरमाथा टेलिभिजनबाट ३ घण्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने, ‘विशेष गरी सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडीले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् ।

खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल वाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समूहले गर्नेछ ।

Loading...