म्याद गुज्रेका औषधि जफत गरी नष्ट

आजको बजार मुख्य समाचार

खोटाङ, २२ चैत, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ । घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा बिहिबार गरिएको संयुक्त अनुगमनका क्रममा एउटै औषधि पसलबाट म्याद नाघेका १ हजार ४७६ रुपैयाँ बराबरको औषधि फेला परेको हो ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका औषधि जफत गरेर नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए । खोटाङ बजारमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमध्ये एउटा औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको हो । म्याद गुज्रेका औषधि बिक्री गर्ने पसलको नाम र औषधिको प्रकार खुलाइएको छैन । औषधि नै म्याद नाघेको फेला परेपछि जनस्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको खुलेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले औषधिजन्य, कस्मेटिक र चिसो पेयपदार्थको समूह बनाएर बिहिबार उपभोग्य सामानको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका कस्मेटिकका १ हजार २६० र चिसो पेयपदार्थ अन्तरगतका ४ हजार ८५५ रुपैयाँ बराबरको सामान जफत गरेर नष्ट गरिएको छ । ईलाका प्रशासन कार्यालय खोटाङ बजार, ईलाका प्रहरी कार्यालय खोटाङ बजार, उद्योग वाणिज्य संघ खोटाङ बजारका प्रतिनिधि लगायतको सहकार्यमा बजार अनुगमन गरिएको हो ।

Loading...