खकुरेल, दुवाल र आचार्यलाई ‘नइ पुरस्कार’

मुख्य समाचार विषेश समाचार साहित्य

रमेश हतुवाली, काठमाडौं, २२ चैत, नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्य विज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदान पुर्याउने प्रा.डा.महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपालीभाषा र साहित्यको गरिमा बढाए बापत मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ पुरस्कारहरू समर्पण गरिनेछन् ।

यसैबीच प्रा.डा.शशि शर्मा तथा प्रा.डा.ज्योति शर्माले नइ प्रकाशनको अक्षयकोषका लागि थप ३ लाख रूपियाँ प्रदान गरेका छन् । अबदेखि ‘नइ ईश्वर बराल पुरस्कार’को राशि पनि एक लाख रूपियाँको हुनेछ । प्रा.डा.शर्मा दम्पती नेपाली भाषा साहित्यका महारथी प्रा.डा. ईश्वर बरालका छोरीज्वाइँ हुन् । ‘नइ ईश्वर बराल पुरस्कार’ अविच्छिन्न समर्पण गर्नका लागि ईश्वर बरालकी श्रीमती रानू बरालबाट नइ अक्षयकोषका लागि ३ लाख रूपियाँ प्राप्त भईसकेको थियो ।

नइ प्रकाशनमा विभिन्न दानवीरहरूले विविधक्षेत्रमा पुरस्कार स्थापनार्थ अक्षयकोषका लागि रकम प्रदान गर्दै आएका छन् । नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईका अनुसार २०५२ सालमा स्थापित नइ प्रकाशनले विविध कार्यक्रमका साथै वार्षिक लगभग १५ लाख रूपियाँ राशिसम्मका पुरस्कार नियमित रूपमा समर्पण गर्दै आएको छ ।

Loading...