यी हुन् नेपाल बार एशोसिएशनका नवनिर्वाचित पदाधिकारी (मतपरिणामसहित)

मुख्य समाचार राजनीति विषेश समाचार

रमेश हतुवाली, काठमाडौँ, २२ चैत, गत शनिवार सम्पन्न नेपाल बार एशोसिएशनको निर्वाचनमा प्रगतिशील समूहले अत्याधिक बहुमत प्राप्त गरी कार्यसमितिको २५ सीट मध्ये २२ सीट हात पार्न सफल भएको छ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको भख्खरै समाप्त भएको मत गणना अनुसार अध्यक्ष पदमा प्रगतिशील समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ लोकतान्त्रिक समूहका उम्मेदवार सुनील कुमार पोख्रेललाई १ सय ४९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । मत परिणाम अनुसार श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरेका छन् भने पोख्रेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।
महासचिव पदमा भने लोकतान्त्रिक समूहका लीलामणी पौडेल विजयी भएका छन् । उनले प्रगतिशील समूहका सुरेन्द्र बहादुर थापालाई ४ सय ७७ मतले हराएका थिए । पौडेलले ४ हजार १ सय ७८ मत प्राप्त गरेका थिए भने थापाले ३ हजार ७ सय १ मत प्राप्त गरेका थिए ।
लोकतान्त्रिक समूहले यस निर्वाचनमा महासचिव, एक उपाध्यक्ष र एक सदस्य सहीत ३ सीट हात पार्न सफल भएको छ ।
लगातारको पराजय पछि प्रगतिशील समूहले यस पटक प्राप्त गरेको सफलतालाई यस क्षेत्रका विज्ञहरुले महत्वका साथ हेरेका छन् । क्रियाशिल बार, भ्रष्टाचार मुक्त न्यायपालीका र छिटो तथा सहज न्यायको लागि यस निर्वाचनमा विजयी सबैलाई आजको खबर मिडियाको तर्फबाट सफल कार्यकालको लागि हार्दिक शुभकामना ।

Loading...