होली आयो, ‘फागु’ गयो – डिल्लीराज अर्याल

मुख्य समाचार विचार

फेरि यस पटक होली आयो र मेरा मनमा केही तरङ्गहरू उब्जाएर, प्रभाव छाडेर गयो। म पहाडी वातावरणमा हुर्किएको मान्छे, केही समय तराईतिर पनि बसेँ। केही वर्ष त भारतका कतिपय गाउँ शहरमा पनि बसेँ र बसेका ठाउँमा मनाइएको यो चाडलाई हेरेँ, मनाएँ पनि।

हेरेँ, हेर्ने र मनाउने क्रममा मैले यी दुवैलाई तुलना पनि गरेँ। तुलना गरेर हेर्दा मैले होली भन्दा फागुलाई आफ्नो नजिक पाएँ, मेरो अनुकूल पाएँ। अलि शान्त पाएँ र अलि स्वाभाविका पनि। हुनत अहिलेको फागु पनि फरक भएको हुनसक्छ होली जस्तै तर मलाई लाग्छ क्रमिकता त दुवैमा छ होला। होलीमा देखिएको प्रभाव फागुमा पनि होला, सोच्छु – तैपनि केही फरक अवश्य छ। कारण मलाई थाहा छैन।

व्यवहारमा – हामीले फागु मनाउँदा सामान्य रङ मात्र खेल्यौँ। साधारणतया निधार र कपालमा मात्र दल्ने गर्यौँ । रङले छ्याप्दा अलिअलि कपडामा पनि पर्‍यो होला। भाङ खाएनौँ, मात्तिएर हिडेनौँ। रङ बाहेक बाटाभरि, सडक र गल्लीभरि प्लास्टिक फ्याँकेर फोहर गराएनौँ । जानेर होस् वा नजानेर फागु गाएको पनि सुन्यौँ। त्यसमा एउटा अलग्गै रस थियो, मिठास थियो, रमाइलो थियो। गाउँघरबाट उठेको फागुबाट एकदिन कतै गएर भोज जस्तो खाने वा कुनै संस्थालाई सहयोग गर्ने गर्यौँ तर अहिले फागु कस्तो छ राम्ररी भन्न सक्दिन। त्यसले पनि बाटो छोड्दै पो छ कि ! थाहा छैन। यहाँ शहरमा यसपटक फागु गाएर घर घरमा हिडेको देखिन।

फागुमा पनि होलीमा जस्तै राम्रा-नराम्रा कुरा होलान् तर अब नेपालीका मुख-मुखमा फागु होइन होली आउन थाल्यो, आयो। फागु हराउँदै गयो। आउँदा होली मात्र आएन, सँगै विदेशबाट, छिमेकबाट ‘होली आयो’ लेखिएका भेस्टहरू आए, प्लास्टिकका प्याकेट र थरीथरीका रङहरू आए। खानेकुराहरू आए, पिउने र लाग्ने कुराहरू आए, जसरी अरू कुरा आउने गरेका छन् त्यसरी नै ।

उताबाट आए, यताबाट गए। हाम्रा आफ्नापन गए, नगद गए, संस्कार संसकृति गए। भाइचारा गए, स्वाभाविक मर्यादा,शिष्टता र वास्तविक स्नेहहरू गए । आउन त धेरै कुरा आए तर जे नआए पनि हुने थियो त्यो र त्यस्ता कुरा धेरै आए भन्ने मात्र कुरा हो मेरो। यो मेरो दृष्टिमा मात्र पनि हुन सक्छ !

हो, आए र त होलीको दिन बिहान सडकमा निस्कँदा, गल्लीमा, सडकमा प्लास्टिकै प्लास्टिक कतै त बोतल, त्यसका फुटेका टुक्रा पनि छित्रिएका देखेँ। सडक गल्लीलाई आँधीपछिको बस्ती जस्तै देखेँ मैले। नरमाइलो लाग्यो तैपनि हाँसेर एकजना परिचित भाइलाई सोधेँ- ‘के हुन् यिनी? कहाँबाट आए होलान् ?’ उसले पनि हाँसेरै भन्यो- ‘दाइ पनि, यो सबै होली त हो नि। आउँछ कहाँबाट ? आकाशबाट आएको पक्कै होइन !’

मनमा कुरा खेल्न थाल्यो- यो होली हाम्रा सडक, गल्लीमा धेरै दिनसम्म यसैगरी बस्नेछ, रहनेछ । हाम्रा मनमा होलीको रङ र रङ्ग यसै गरी रहनेछ, शायद अर्को होली नआउँदासम्म रहनेछ । अर्को होलीले फेरि यस्तै र यो भन्दा नयाँ अरू कुरा पनि बटुल्नेछ । अनि हामी रमाउँदै र चिच्याउँदै भन्नेछौँ’ ‘हेप्पी होली…..।’

‘होली आयो’ र हेप्पी होली जस्ता नारा लिएरै आयो। गीत लिएर, गाएरै आयो। हाम्रै सामु होली हेप्पी (खुशी) भएरै आयो र फागुलाई किनारा लाउन थाल्यो। होली हेप्पी भएपछि फागु शिथिल हुने नै भयो। जाँदा अथवा ऊ शिथिल हुँदा म पनि शिथिल भए जस्तो भएँ। अरू कुनै नेपालीलाई यस्तो हुन्छ कि हुन्न मलाई थाहा छैन । मलाई त जब हाम्रा नेता, बुद्धिजीवी, भाषाविद्हरू समेत यसरी नआउने कुरा आउने र नहराउनु पर्ने कुरा हराएकोमा चिन्ता नगर्ने, कुनै सोच नबनाउने गरेको देख्छु कताकता चस्स बिझ्छ। हेप्पी होलीले हाम्रो भाषा, संस्कृतिलाई हेपे जस्तो, हराउन खोजे जस्तो लाग्छ ।

मान्छेले अनुभव गरेकै छ- वन साङ्ला आएपछि घर साङ्ला हराउँछन्, झारपात निस्केपछि मकैका बोट कक्रक्क हुन थाल्छन्। वनमारा झारले बोट बिरुवालाई खतमै पार्न थाल्छन्।

पृथ्वीनारायणले भनेकै हुन् देशी महाजन आया भन्या देशलाई कङ्गाल बनाइ छाडछन् ! तर हामी त उपदेश चन्द्रकलाको ‘गङ्गादत्त भ्यागुतो’ बनेर आफै सर्पलाई आमन्त्रण गर्छौँ, तिनलाई स्वागत, सत्कार पनि गर्छौँ। अनि ? पोखरीमा बोलाइएको त्यो सर्पले त्यही गङ्गादत्तका सन्ततिलाई, परवारलाई नखाएर कसलाई खान्छ?

मनमा यस्तै कुरा खेलिरहन्छ । सोच्छु – हामी नेपाली कतै छौँ कि छैनौँ ? हाम्रा आफ्ना भन्ने चीज यहीँ कतै छन् कि छैनन् ? छन् भने पनि ती कति दिनसम्म रहने, हुने हुन् र तिनलाई जोगाउने कसले हो? कसरी हो? हामी कतै गङ्गादत्त झैँ हुनुपर्ने त होइन? भन्नेतिर कसैले सोचेको छ? सोच्नुपर्ने देखेको छ?

नसोचिकनै, नदेखिकनै यसरी होली आयो भन्दै हामी दङ्ग परेका पर्‍यै छौँ । होली आएको आयै छ, हाम्रो फागु हराउँदै जान थालेको छ । हामीले यसको सङ्केत बुझेनौँ बुझ्न खोजेनौँ या त बुझेर बुझ पचाउने गर्‍यौँ परिणाम होलीले खेल्ने मौका पायो। त्यसैले हाम्रामा होली आयो ‘फागु’ आएन…।

Loading...