विप्लव समूहले बन्दुक बोक्नुपर्ने अवस्था छैन – मुख्यमन्त्री राई

प्रदेश मुख्य समाचार

विराटनगर, १९ चैत, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । माप्य दुधकोशी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा विप्लब समूहलाई लक्षित गर्दै मुख्यमन्त्री राईले मूलुक सम्बृद्धिको दिशामा अघि बढिसकेकाले बन्दुक बोक्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

जनताकै आँगनमा स्थायी सरकार भएकाले बजेटका लागि राजधानी धाइरहनुपर्ने अवस्था नरहेको बताउँदै संघीय संरचनाबाट मात्र विकास र सम्बृद्धि सम्भव रहेको उनले बताए । उनले भने, ‘सडक, पिउनेपानी, शिक्षा, स्वास्थ्य, संचार, वेरोजगारी र गरिबीको अन्त्यका लागि तिनै तहको सरकार लागि परेका छौ ।’ जनप्रतिनिधिलाई जनतालाई ढाट्ने सुविधा नभएकाले सम्बृद्धि नआउला की भन्ने तहबाट शंका नगर्न आग्रह गरे ।

पर्यटन र कृषिको विकास, जलस्रोतको उपयोगिता, रोजगारी सृजना लगायतका विषयमा गम्भीर ढंगले लागेको राईको भनाई छ । हिमाल र तराईलाई जोड्नका लागि केचनापुरदेखि सगरमाथासम्म केवलकारको अवधारणा अघि बढाएको मुख्यमन्त्रीले बताए । प्रदेश र संघीय सरकारसँग समन्वय गरेर दिगो विकासमा लाग्न स्थानीय तहलाई आग्रह समेत गरे ।

प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ ले भौतिक पूर्वाधारका हिसाबले जिल्लाले फड्को मारेको दाबी गरे । प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले जनताको आवश्यकताको आधारमा बजेटको व्यवस्था र कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको बताए ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले हिमाली र पहाडी जिल्लाको विकासको लागि समानुपातिक विकासको अबधारणा अनुसार विकास बजेट विनियोजन गर्नुपर्ने बताए ।

माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खुम्बुपासाङल्हमू गाउँपालिका र माप्य दूधकोशी गाउँपालिकाको सहकार्यमा ९ करोड लगानी ओलाङघाट स्थित दूधकोशी नदीमा बन्न लागेको मोटरेबल पुललाई आवश्यक बजेटको माग गरे । समीक्षालय हल गाउँपालिकाको ३२ लाख र ६४ लाखको लागतमा बासा प्रहरी चौकीभवन निर्माण गरिएको हो ।

तस्विर: फायल