विभिन्न विधाका ६ जनालाई ‘नई पुरस्कार’

मुख्य समाचार साहित्य

रमेश हतुवाली, काठमाडौं, १८ चैत, नई प्रकाशनले विविध क्षेत्रका छ जनालाई २०७५ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नई चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि चन्द्रप्रकाश मैनाली (सिपी मैनाली) लार्ई ‘नई कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

त्यसैगरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन विशिष्ट योगदानका निम्ति प्रा.डा.चूडामणि बन्धुलाई ‘नई खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नई भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदर्शनी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नई यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नई धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
ताम्रपत्रका साथै यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । नई प्रकाशनकी अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नई प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईका अनुसार शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट ‘नई पुरस्कार’ हरू समर्पण गरिने छ ।