महिलाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा चार जना पक्राउ

मुख्य समाचार समाज

गौर, १८ चैत, रौतहटमा छ सन्तानकी आमाको हत्या गरी दाहसंस्कार गरेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । घटनाको अनुसन्धान गर्न रौतहट प्रहरीले मृतक महिलाका श्रीमान प्रमोद ठाकुर, काका–ससुरा रामेश्वर ठाकुरसहित परिवारका दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्ने महिलाहरुमा निभा ठाकुर र सीमा ठाकुर रहेको प्रहरीले जनाएको छ ।

रौतहटको गढीमाई नपा १ हरैयाका प्रमोद ठाकुरले जेठी श्रीमती २८ वर्षीया सुनिता देवी ठाकुरलाई टाउकोमा प्रहार गरेपछि गम्भीर घाइते बनाएका थिए । घाइते महिलाले स्वाङ पारेको हो भन्दै उपचारतिर ध्यान नदिँदा छटपटिएर महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु भएपछि लगत्तै नजिकैको जंगलमा लगेर दाहसंस्कार समेत गर्न भ्याएको ठाकुर परिवार बेपत्ता भएको थियो । शनिवार दिउँसो अचानक महिलाको मृत्यु भएको र लगत्तै दाहसंस्कार गरिएको खबरले गाउँमा आशंकायुक्त सनसनी फैलिएको थियो । ठाकुर परिवारको गतिविधिले महिलाको हत्या भएको हुन सक्ने भनी कसैले प्रहरीलाई खबर गरेपछि रौतहट प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो ।