आँधी आए तराईमा पहाडले छेक्नुपर्छ…

मुख्य समाचार विचार विषेश समाचार

डिल्ली रमण सुवेदी, काठमाडौँ, १८ चैत, आपत, विपत, विनाश र भवितब्यमा राहत र मल्हम बोकेर पीडितको आँगनमै पुग्ने एक युवा हुन् दिपेश पुन । उनको परिचय यतिमा मात्रै सीमित हुँदैन उनी नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

तराईमा बाढीले क्षति पुर्याएको बेला होस् वा आगलागीको बेला होस्, वा होस् पहाडमा भूकम्प आएको बेला, उनी राहत र सहयोगी हात बोकेर दुर्घटना स्थलमै पुग्ने गरेका छन् । उनी त्यहाँ पुग्छन् र उद्दारमा खटिन्छन् । सामाजिक सञ्जालमा पनि निक्कै सक्रिय रुपमा अपडेट रहने पुन ती क्रियाकलापहरु, त्यहाँको अवस्थालाई जस्ताको तस्तै कैद गरेर अरुलाई पनि जानकारी गराउँछन् । सहयोगकालागि अपिल र आग्रह गरिरहन्छन् ।

पुनलाई म ब्यक्तिगत रुपमा चिन्दिन, उनको सामाजिक सञ्जालको साथी पनि होइन, फेसबुकले दिएको साथीको सीमा भन्दा बाहिरको मान्छे म अर्थात् फेसबुकको फलोअर, उनले गरेका प्रत्येक क्रियाकलापहरु प्रत्येक पटक हेरिरहने मान्छे । उनले समाज सेवामा देखाएको उत्साह र सहयोगको फलोअर ।

आइतबार साँझ करिब साढे ८ बजे तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लामा भीषण आँधी आयो । यो आलेख तयार पार्दासम्म सो आँधीबाट ३१ जनाको निधन र ५ सय भन्दा बढी घाइते भएको अपुष्ट खबर प्राप्त भइसकेको छ । उद्धार कार्य र घाइतेको उपचार जारी रहेको छ ।

यो विनासको खबर सुन्ने बित्तिकै दिपेश पुन तराई ओलिए । तराई झरेका पुनले बिहानै सामाजिक सञ्जालमा लेखे, ‘अकस्मात् आज तराई रमधेसको बारा, पर्सा रौटहट क्षेत्रमा भिषण हावाहुरी बर्षाले २५ भन्दा बढीको मुत्यू र सयौं घाइते भएको खबरले म स्तब्ध भएको छु । यो बेला राजधानीको तारबारभित्र मस्तसंग सुत्न र समाचार पढ्दै बस्न मेरो सोच, स्वभाव र मनले मान्दैन पनि । संगै सम्माननीय प्रधानमन्त्रीको उद्वार कार्यमा तत्काल खट्न निर्देशनलाई मनन गर्दै हरेक नेपालीको दुख र पिडामा एकले अर्कालाई साथ र सहयोग गर्नु हामी सबैको कर्त्तव्य हो।’

मध्यरातमा उठेर तराईतर्फ लागेका पुनले विपतको घडीमा आफूँ सँगै हुने पनि बताएका बताउँछन् । उनले सोही स्टाटसमा लेखे, ‘विनाशकारी महाभूकम्प होस् वा केही वर्ष पहिले तराई/मधेस क्षेत्रको भिषण बाढीमा उद्वार राहत वितरण या आगलागी पिडित वस्ति वा अन्य क्षेत्रको हरेक नेपालीको पिडा आशुमा म सधै संगसंगै छु ।’ उनको यो भनाईले गम्भीरता राख्छ । सबै युवा तथा सक्षम व्यक्तिहरुले आपतको यो घडीमा राहत र उद्दारमा जुट्नु आवश्यक छ । उनको आग्रहलाई स्वीकार गर्दै कयौँ युवाहरु अहिले तराईका विभिन्न जिल्लामा खटिएका पनि छन् ।

केही समयपछि उनले फेरि अर्को स्टटस लेखे र आकस्मिक रक्तदानको अपील गरे । उनले भने, ‘कृपया बिरगंज ब्लड बैंकमा पुगी रक्तदान गरौ । बिरगंज ब्लड बैंकमा बृहत् रक्तदानका लागि प्रदेश नं २ का दुवै अखिल र युवा विद्यार्थी साथीहरुलाई नजिक र संभव भएकाहरुले अहिल्यै नत्र बिहानै सकभर उपस्थिति हुन आग्रह गरिन्छ। सबै साथीहरु उठौं जागौं लागौं।’ उनले सो घटनाका घाइतेहरुको उपचारमा रगतको अभाव हुनसक्ने भन्दै रगत संकलनको कार्यलाई पनि पहिलो चरणमा सुरु गरे । यता रेडक्रस सोसाइटी पर्साले पनि घाइतेहरुको उपचारमा निःशुल्क र सशुल्क रगत उपलब्ध गराईरहेको बताएको छ । रगत अभाव हुन नदिन ब्लड बैंकमा रगतको थप व्यवस्थापन गरिएको पनि उसले जनाएको छ ।

उद्दार कार्य सुरु गरिसकेपछि पुनले पुनः अर्को स्टाटसमा गीतका शब्दहरु राख्दै मर्मस्पर्शी सन्देश दिए:
‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ ।
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।।
होइन भने देशभक्ति छैन हाम्रो छातिभित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रूनुपर्छ ।’

यी गीतका शब्दहरु समय सुहाउँदा भएकोले पनि धेरैमा सहानुभूति जगाउने कार्य गर्यो । उनले सचिव सूर्य नारायण शाह, प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, चेत बलाखे लगायतका केन्द्रीय सदस्य तथा जिल्ला समितिका साथीहरुसहित अखिल (क्रान्तिकारी) २ नं प्रदेशले आज बिहान बृहत् रक्तदान कार्यक्रम शुरु गरेर उद्वार, राहत संकल, वितरण तथा स्वास्थ्य शिविर अभियान शुरु जानकारी गराएका छन् । उनले आज दिनभरी रक्तदान जारी रहने, क्षतिभएको स्थलमा उद्वार कार्यमा दिनभरी सक्रिय रहने र भोलीदेखि राहत संकलन वितरण र स्वास्थ शिविर संचालन गर्ने जानकारी गराएका छन् ।

केही समयपछि फेरि अर्को स्टाटस लेख्दै पुनले उद्वार कार्य जारी रहेको जानकारी गराए । सबै घर ध्वस्त भएकोले बस्न र खानेकुराको अभाव रहेको उनको भनाई छ । पीडितहरुको गाँसका लागि पनि समस्या रहेकोले हप्ता–दश दिन सामूहिक मेश संचालन गर्नुपर्ने भएको उनले बताए । पुनले यथाशीघ्र राहत संकलन गरेर पठाउन आग्रह गरेका छन् भने स्वास्थ्य शिविर सञ्चालन र राहत संकलन तथा वितरणमा सबैको सहयोगको अपेक्षा पनि गरेका छन् ।

पुन यसरी उद्दारमा खटिरहँदा अन्य युवाहरुले उनलाई खुलेर साथ सहयोग गरिरहेका छन् । उनले सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । उनको यो कार्यको सबैले खुलेर प्रशंसा गर्नु पर्छ र अन्य युवाहरुले पनि यसको सिको गर्नुपर्छ । अनि मात्रै तराईको यो पीडामा पहाडले मल्हम लगाउन सक्छ । गीतका शब्दहरु सार्थक हुन्छन् । दिपेशको यो कार्यलाई सलाम ।

तस्विर साभार: पुनको फेसबुक वालबाट

Loading...