लडेर ८७ वर्षीय वृद्धको निधन

मुख्य समाचार समाज

खोटाङ, १६ चैत, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ८७ वर्षीय वृद्ध नीरबहादुर राईको लडेर मृत्यु भएको छ । घरभन्दा केही टाढा गएर फर्कने क्रममा लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोभन्दा करीब ५ मिटर तल खसेका राईको टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । घर नजिकै बिहीबार साँझ लडेका राईको घटना स्थलमै मृत्यु भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा डाक्टर नहुँदा मृतकको शव पोष्टमार्टमका लागि उदयपुरको बेलटार पठाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि नियमित डाक्टर नबस्दा सर्वसाधारण मारमा गरेको स्थानीय दिलीप राईले बताए । गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्थानीय उपचार गर्न वा पोष्टमार्टमका लागि समेत अन्यत्र जान बाध्य छन् ।