रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार डा. केदार बुढाथोकीलाई

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, १६ चैत, २०६७ सालबाट मुख्य ४ विधामा दिइँदै आएको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार यो वर्ष डा. केदार बुढाथोकीलाई प्रदान गरिने भएको छ । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कारको घोषणा गरेको हो ।

यस अघि पाँचौँ पटकसम्म विविध ४ विधामा पुरस्कार वितरण गरिसकेको प्रतिष्ठानले आगामी वर्ष अर्थात २०७६ साल वैशाख ७ गते सम्बन्धित विषयमा विज्ञ ३ जना पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिसका आधारमा पुरस्कार वितरण गरिने भएको हो ।

ओली वंश समन्वय समिति केन्द्रीय कार्यालय विर्तामोडमा प्रतिष्ठानका सदस्य अनिरुद्र ओलीले स्वागत गरेको कार्यक्रममा झापामा कृयाशिल लगभग ३० जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

आगामी वैशाख ७ गते काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोसीको प्रमुख आतिथ्यतामा सो पुरस्कार अर्पण गरिने जनाइएको छ । कृषि पुरस्कारतर्फ नगद रु एक लाख एक हजार एक सय एघार राशिको पुरस्कार नख्खु ललितपुरका डा. केदार बुढाथोकीलाई दिइने भएको छ । कृषि क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

त्यसैगरी नगद रु एक लाख एक हजार एक सय एघार राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा नगद पुरस्कार सुनसरी जिल्ला धरान उपमहानगरपालिकाकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

यता तेश्रो विधा अन्तर्गत नगद रु एक लाख एक हजार एक सय एघार राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार खरेलथोक काभ्रेपलान्चोकका पत्रकार तथा प्राध्यापक पर्शुराम खरेल अर्थात पि खरेललाई प्रदान गरिने घोषणा गरिएको छ ।

चौथो पुरस्कार अन्तर्गत देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार गुराँस ३, खुम दैलेखको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ११ मा अध्ययनरत यामबहादुर वि.क. लाई नगद रु एकाउन्न हजार एक सय एघार रुपैयाँसहित पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले घोषणा गरेका छन् ।

Loading...