एसईई प्रश्नपत्र बाहिरिएको विरोधमा विभिन्न स्थानमा तोडफोड

ट्राफिक/प्रहरी मुख्य समाचार शिक्षा

काठमाडौं, १५ चैत, एसईई परीक्षाको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएको भन्ने विषयलाई लिएर २ नम्बर प्रदेशका ८ जिल्लामा भएको विद्यार्थीहरुको विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा तोडफोड हुँदा क्षति भएको छ । उक्त विषयको परीक्षा रद्द गरी पुनस्अर्को दिन परीक्षा हुने भन्ने समाचार आएको विषयलाई लिएर तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

विद्यार्थीहरुले तोडफोड गर्दा ना १ झ १२६९ नम्बरको पिकअप गाडी र बा १ ग २५८१ नम्बरको गाडीको अगाडिको सिसा फुटेर क्षति भएको छ । साथै वीरगञ्ज महानगरपालिका–१० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिटको सिसा, अस्थाई प्रहरी पोष्ट घण्टाघर भवनको झ्यालको १ वटा सिसा तथा एलईडी टिभी, टेम्पो पार्कस्थित प्रतिक्षालयको एलईडी टिभी, बसपार्कस्थित ६ वटा बसका सिसा, नेशनल ईन्फोटेक कलेजको झ्यालको ८ वटा सिसा, ईमेक्स सिनेमा घरको अगाडिको सिसा, अनुभूति क्याम्पसको सिसा समेत फुटेर क्षति गराएको प्रहरीले जनाएको छ ।

झडपमा परी ४ जना विद्यार्थी, १ जना शिक्षक र ४ जना प्रहरी कर्मचारी सामान्य घाईते भएको पनि जनाइएको छ। साथै पर्सा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शनकारीले सवारी साधन आवत जावतमा रोक लगाउन खोजेपछि प्रहरीले सम्झाई बुझाई गरेको जनाएको छ ।

सोही विषयलाई लिएर विरोध प्रर्दशन गर्ने क्रममा धनुषा जनकपुर उपमहानगरपालिका–९ पिडारी चोकमा रोकी राखेको ना५ ख ५०४५ नम्बरको बसको अगाडिको सिसा र २ नम्बर प्रदेश मन्त्रालय अगाडि रोकी राखेको बा२० च ९३७१ नम्बरको कारको पछाडिको सिसा तथा सर्लाही मलंगवा नगरपालिका-९ कृष्णचोकमा रहेको सिसिटिभी क्यामरा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीको पहलमा हाल उक्त स्थानहरुमा स्थिति सामान्य रहेको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

Loading...