एसइई प्रश्नपत्र आउट गरेबापत सरकारलाई २ रुपैंया पुरस्कार

मुख्य समाचार शिक्षा

सर्लाही, १५ चैत, माध्यमिक शिक्षा परिक्षा (एसइई) २०७५ अन्तर्गत प्रदेश नं. २ मा दुई विषयको प्रश्नपत्र आउट भएको विरोधमा मुलुकभर विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । कतै चक्काजाम त कतै विरोध र्याली भईरहेको छ । तर हरिवनका विद्यार्थीले भने व्यंगात्मक विरोध स्वरुप प्रदेश नम्बर २ सरकारलाई पुरस्कार स्वरुप २ रुपैंया प्रदान गरेका छन् भने संघीय सरकारलाई धन्यवाद प्रकट गरेका छन् ।

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रश्नपत्र आउट गरेबापत भन्दै प्रदेश सरकारलाई पुरस्कार स्वरुप २ रुपैंया प्रदान गरेको हो । शुक्रबार दिउँसो ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दिपक आचार्य मार्फत प्रदेश सरकारलाई नगद पुरस्कार र संघीय सरकारलाई धन्यवाद ज्ञापनसहितको ज्ञापनपत्र बुझाइएको स्ववियु सभापति प्रज्वल ढुंगानाले जानकारी दिए ।

‘एसइईको प्रश्नपत्र बाहिर्याएर प्रदेश नम्बर २ का तमाम विद्यार्थीहरुको भविष्यप्रति राज्यले गरेको चिन्ता प्रति हामी नतमस्तक छौं’ ज्ञापनपत्रमा व्यङ्ग्य गरिएको छ, ‘प्रश्नपत्र बाहिर्याउन सहयोग गर्ने मन्त्रालय, जिम्मा लिन तयार नहुने सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं ।’ ज्ञापनपत्रमा थप व्यंग्य गरिएको छ, ‘यदि तपाईंको परिवारका कसैले परीक्षा दिँदै गरेका भए केही न केही जिम्मेवारी बोध हुने थियो होला भन्दै यस्ता गैरजिम्मेवार गतिविधि प्रति धन्यवाद व्यक्त गर्दै सम्मान स्वरुप प्रदेश नम्बर २ को सरकारलाई २ रुपैंया प्रदान गर्दछौं ।’

एसइई अन्तर्गत प्रदेश नम्बर २ को बिहिबार विज्ञान तथा शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको थियो । विद्यार्थीले बिहिबार विज्ञानको परीक्षा दिइसकेपछि रद्ध गरिएको छ भने शुक्रबार सामाजिक विषयको परीक्षा सुरु नहुँदै रद्ध गरिएको छ ।

Loading...