प्रदेश ५ बाट विप्लव समूहका २२ जना नेता, कार्यकर्ता पक्राउ

मुख्य समाचार राजनीति

बुटवल, १५ चैत, सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । यो प्रदेशमा एनसेल टावर प्रकरणपछि १० र सरकारको प्रतिबन्धपछि १२ जना पक्राउ परेका छन् । पछिल्लो चार सातामा २२ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय दाङ्गका डिएसपी टिका कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज छन् । विप्लव निकटको अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य र युवा संगठनका केन्द्रीय सदस्य शेरबहादुर रानालाई गएराती पक्राउ गरीएको छ । आर्चाय विप्लवले गठन गरेको अवध लुम्बिनी जनसरकार सदस्य पनि हुन् ।

प्रहरीले समानान्तर जनसत्तामा भएका नेताहरुलाई विशेष टार्गेट गरेको छ । रुपन्देहीको सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आर्चायलाई रुद्रपुर स्थित घरबाटै पक्राउ गरेको हो । उनको साथबाट चन्दा रसिद, पर्चा पप्लेटहरु बरामद भएको छ । रुपन्देहीबाट पार्टीको युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र टण्डन र ट्रेड युनियन क्रान्तिकारीका जिल्ला सदस्य युवराज न्यौपाने ‘अक्कल’ पनि फक्राउ परेका छन् । टण्डनलाई बुटवलको तीनकुनेबाट र अक्कललाई भैरहवाबाट पक्राउ गरिएको हो ।

पश्चिम नवलपरासीका जिल्ला इन्चार्ज गंगा ज्ञवाली ‘सुमन’ गत सोमबार राती बर्दघाट नगरपालिका ४ बाट पक्राउ परे । उनलाई प्रहरीले आगजनी मुद्दा लगाएको छ । यसअघि अर्घाखाँची इन्चार्ज रहेका उनी केही समय अघि नवलपरासी आएका थिए । प्युठानबाट नुवाखर डुम्रे र पदम प्रसाद पोखरेल पक्राउ परेका छन् । पोखरेल अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य तथा राप्ती समन्वय समितिका संयोजक हुन भने डुम्रेको पद खुलाइएको छैन ।

बाँकेबाट सबैभन्दा धेरै ५ जना पक्राउ परेका छन् । जनपरिषद बाँकेका अध्यक्ष कृष्ण बहादुर शाहीलाई चैत ११ गते बैजनाथ गाँउपालिकाबाट पक्राउ गरिएको हो । १२ गते कोहलपुरबाट भेरी व्युरो सैन्य इन्र्चाज दानबहादुर फडेरा र सन्तोष बस्नेत पक्राउ परेका छन । बाँकेका न्याय विभाग प्रमुख चित्रबहादुर विक ‘कुमार’ र अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धकुमारी शाह (चन्द) पक्राउ परेका छन् । पक्राउ परेका केन्द्रीय स्तरका नेतालाई संगठित अपराध अन्तरगत मुद्दा चलाइएको छ । तर हतियार बिनै घर निवासबाट पक्राउ गरेका धेरैजसोलाई सर्वाजनिक नैतिकता विरुद्धको अभद्र व्यवहार मुद्दा चलाइएको छ ।

सरकारले प्रतिबन्ध लाउनु अघि नै फागुन २३ गते विप्लवको कपिलबस्तु स्थित घरमा प्रहरीले छापामारी हतियारसहित विष्फोटक पदार्थ बरामद गरेको थियो । एक जना पक्राउ परेका थिए । त्यसलगत्तै भएको प्रदेश सुरक्षा गोष्ठीले विप्लवलाई मुख्य सुरक्षा चुनौतीको रुपमा परिभाषित गर्दै सुरक्षा रणनीति बनाएपछि विप्लवको बलियो पकड क्षेत्रको रुपमा रहेको प्रदेश ५ बाट पार्टीका गतिविधि पश्चिम र पूर्वी क्षेत्रमा केन्द्रित गरिएको श्रोतको भनाइ छ ।

नेताहरु पूर्ण भूमिगत छन् । संचार र सामाजिक संजालबाट टाढिएका छन् । ती जिल्लामा सुरक्षाकर्मीहरुको संख्या बढाइएको छ । तर प्रदेश प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले भने प्रदेशका सबै जिल्लाहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताए ।